काठमाडौं । सरकार सञ्चालन गर्न सत्तारुढ गठबन्धनले बनाएको राजनीतिक संयन्त्रप्रति प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसभित्रै असन्तुष्टि देखिएको छ । संयन्त्र बनाएर संविधान र प्रजातान्त्रिक विधिको धज्जी उडाइएको भन्दै केही नेताहरुले सार्वजनिक रुपमै विरोध गर्न थालेका छन् ।
कांग्रेस नेता प्रकाशमान सिंहले प्रजातान्त्रिक मुल्य मान्यता विपरित संयन्त्र खडा गरिएको भन्दै आपत्ति जनाए । सरकारभन्दा माथि हुने गरि संयन्त्र बनाउनु गलत भएको उनको भनाई छ ।
‘सरकारभन्दा माथि जस्तो संयन्त्र बनेको छ, यो संविधान र प्रजातान्त्रिक विधिविपरीत पनि हुन्छ’, सिंहले बुधबार बिहान काठमाडौंमा आयोजित एक कार्यक्रममा भनेका छन्, ‘ काम त सरकारले गर्नुपर्ने हो तर समन्वय समिति बनाइएको छ, अहिलेको अवस्थामा यो आवश्यक छैन् ।’
सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पाँच दलीय गठबन्धनको बैठकले कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा सरकारलाई सहयोग गर्न भन्दै ११ सदस्यीय उच्चस्तरीय राजनीतिक समन्वय समिति गठन गरेको थियो । समितिमा एक मन्त्रीसहित ५ दलबाट २/२ जना नेताहरु सहभागी छन् ।
उच्च स्तरीय समितिमा पाँच दलका शीर्ष नेताहरु सहभागी छन् । कांग्रेसबाट रामचन्द्र पौडेल र कृष्ण सिटौला छन् भने मन्त्रीको रुपमा ज्ञानेन्द्रबहादुर कार्कीलाई राखिएको छ ।
आन्तरिक रुपमा केही कमजोर हुँदै गरेका देउवाले पुनः बलियो हुन रामचन्द्र पौडेललाई नै साथ लिन खोजेका छन् । सरकार गठनदेखि नै पौडेललाई वेवास्ता गरेका देउवाले एकाएक सरकारलाई नै हेर्ने गरि शीर्ष नेताहरुको राजनीतिक संयन्त्र बनाउनु र उक्त संयन्त्रको संयोजक पौडेललाई बनाउनुले पार्टीभित्रको राजनीतिलाई आफुँ अनुकुल बनाउन खोजेको देखिन्छ ।
किन भयो विरोध ?
गुटै गुटको खेल चल्ने कांग्रेसभित्र सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको गुटलाई मुख्य मानिन्छ । तर, महाधिवेशन नजिकिँदै गर्दा दुई नेताले नेतृत्व गरेको गुटमा नै क्रमशः फुट देखिन थालेको छ । दुवै नेताहरु आफ्नै समूहमा कमजोर हुँदै गएका छन् ।
तर, आन्तरिक रुपमा केही कमजोर हुँदै गरेका देउवाले पुनः बलियो हुन रामचन्द्र पौडेललाई नै साथ लिन खोजेका छन् । सरकार गठनदेखि नै पौडेललाई वेवास्ता गरेका देउवाले एकाएक सरकारलाई नै हेर्ने गरि शीर्ष नेताहरुको राजनीतिक संयन्त्र बनाउनु र उक्त संयन्त्रको संयोजक पौडेललाई बनाउनुले पार्टीभित्रको राजनीतिलाई आफुँ अनुकुल बनाउन खोजेको देखिन्छ ।
देउवा पक्षीय एक नेताले पार्टीभित्रको विग्रहलाई सम्बोधन गर्न पनि पौडेलको नेतृत्वमा संयन्त्र बनाइएको स्वीकार गरे । उनले भने, ‘सरकार सञ्चालनमा प्रधानमन्त्री जीलाई आफ्नै पार्टीभित्रबाट पनि अपेक्षित सहयोग हुन सकेको छैन्, पौडेल जीलाई संयन्त्रमा ल्याउनुमा सरकार सञ्चालनमा सहयोग पुगोस् र पार्टी एकतामा पनि इँटा थपियोस् भन्ने उद्देश्य पक्कै हो ।’
अहिले पौडेल नेतृत्वको उच्चस्तरीय संयन्त्रको विरोध मुख्यतः पौडेल गुटभित्रैबाट भएको देखिन्छ । आफुँ स्वंयलाई अल्पमतमा पार्न खोजिएको समूहलाई पौडेलले नयाँ ढंगबाट अगाडि बढाउन खोजेपछि विग्रह गरेर नेतृत्व लिन खोज्नेहरु विरोधमा उत्रिएको धेरैको बुझाई छ । स्मरणरहोस् सार्वजनिक रुपमै संयन्त्रको विरोध गर्ने सिंह स्वंय सभापतिका उम्मेदवार हुन् ।
वि.सं.२०७८ कात्तिक २४ बुधवार १४:०४ मा प्रकाशित























