(१)
बुढेशकालमा पाल्छ भन्दै, छोरा पाउँदा मख्ख पर्थ्यौ
छोरी भन्दा त्यो छोरालाई, कति धेरै प्यारो गथ्र्यौ
अहिले छोराले भोकै पार्दा, छोरीले पो पालेकी छे
छोरीको गर्भ तुहाएको भए, आज खान नपाई मथ्र्यौ …
(२)
अचेल मेरा सन्तान किन, यति अबुझ बन्न थाले
हिमाल पहाड तराई छुट्याइ, तेरो मेरो भन्न थाले
सिङ्गो देशको कुरै छैन, वर्ग जातको पछि लाग्दै
सद्भाब बोक्ने छाति भित्र, साँच्चै खाडल खन्न थाले..
(३)
अझै पनि गर्छन् यहाँ, ठूलो सानो जातको कुरा
मुटु बिझ्ने गरि हान्छन्, जानि जानि लातको कुरा
पुर्खाले खुकुरिको भरमै, लडेर देशको शान देखाए
तर कहिले गरिएन त्यो, खुकुरी बनाउने हातको कुरा ..
(४)
मनपरी गर्न पो, प्रजातन्त्र चाहिएको रहेछ
टन्न पेट भर्न पो, गणतन्त्र चाहिएको रहेछ
कुर्सीका खातिर, जनताको टाउकोमा टेकेर
सत्ता तिर सर्न पो, लोकतन्त्र चाहिएको रहेछ ..
(५)
सिमसिम पानी चिसो छ मन, प्रियसीको साथ होस्
जीवनभर अँगालो अनि तिम्रो, हातमा मेरो हात होस्
जीवन जिउनुको उत्सर्ग यती बेला अनुभुत हुन्छ की
तिमी राजा भन म रानी भन्छु, यस्तै मिठा बात होस् ..
वि.सं.२०७८ मंसिर ४ शनिवार ०६:५३ मा प्रकाशित
























