काठमाडौं । नेपाल पत्रकार महासंघले आफ्ना सदस्यहरु विभिन्न राजनीतिक दलका विभिन्न तहमा उम्मेदवार र प्रतिनिधि बनेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
प्रमुख राजनीतिक दलका विभिन्न तहका कमिटीहरुमा अहिले धमाधम चुनाव हुने वा प्रतिनिधि चयन हुने क्रम जारी रहेको अवस्थामा समाजका विभिन्न क्षेत्रबाट त्यसको आलोचना गरिएको भन्दै यसलाई महासंघले गम्भीर रुपमा लिएको जनाएको छ ।
नेपाल पत्रकार महासंघको विधान २०६०-पाँचौ शंसोधन २०७६) ले प्रष्ट रुपमा ‘महासंघका केन्द्रीय समिति, प्रदेश समिति वा शाखा समितिका पदाधिकारी तथा सदस्यले सो पदमा बहाल रहेसम्म कुनै राजनीतिक दल वा भातृ संगठनको कुनैपनि तहको विभाग वा भातृ समितिमा रहेर काम गर्न नपाउने भनिएकोले त्यसतर्फ ध्यानदिन आग्रह गरेको छ ।
‘राजनीतिक दल वा भातृ संगठनको कुनै पनि तहको विभाग वा समितिमा रही काम गरेमा संगठन समितिको सिफारिसमा केन्द्रीय समितिले स्पष्टीकरण सोध्ने, निलम्बन र सदस्यता खारेज गर्ने निर्णय समेत गर्नसक्ने तर्फ ध्यान दिन महासंघ आग्रह गर्दछ ।’ महासंघद्धारा आइतवार जारी विज्ञप्तिमा भनिएको छ ।

वि.सं.२०७८ मंसिर ५ आइतवार १४:१६ मा प्रकाशित






























