काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महाधिवेशन प्रतिनिधिको निर्वाचन आजदेखि सुरु हुँदैछ । मंसिर १५ गतेदेखि १७ सम्म काठमाडौंमा आयोजना हुने राप्रपाको महाधिवेशनका लागि प्रतिनिधि छनौट हुँदैछ।
महाधिवेशनका लागि देशका ३३० वटै प्रदेश सभा निर्वाचन क्षेत्रबाट २९७० प्रतिनिधि छनोटका लागि आजबाट सुरु भएर पर्सी ८ गतेसम्म महाधिवेशन प्रतिनिधिको निर्वाचन हुने तालिका रहेको राप्रपाका प्रचार संयोजक मोहन श्रेष्ठले जानकारी दिए।
राप्रपाले प्रत्येक प्रदेश सभा निर्वाचन क्षेत्रबाट समावेशी आधारमा नौ जना प्रतिनिधि छनौट गर्नेछ, जसअनुसार ३ खस आर्य (अन्य), ३ महिला, १ जनजाति, १ दलित, १ अल्पसंख्यक, मुस्लिम, थारु लगायत गरी नौ जना निर्वाचित गर्नेछ ।
यसअघि राप्रपाले वडा तह देखि प्रारम्भ भएको अधिवेशन गाउँ, नगर, प्रदेशसभा, क्षेत्र, जिल्ला, प्रदेश प्रतिनिधि चयन गरिसकेको छ।
राप्रपाले मंसिरको १५-१७ मा पार्टीको एकता महाधिवेशन गर्दैछ । महाधिवेशनमा देश तथा विदेशबाट गरी करिव चार हजार पाँच सयभन्दा बढी प्रतिनिधिले भाग लिने प्रचार विभागका सदस्य जनकराज पाठकले बताए । उनका अनुसार महाधिवेशनमा सहभागी हुन १५ जना प्रतिनिधि विदेशवाट समेत नेपाल आउने छन् । काठमाडौंको भृकुटीमण्डपमा हुने महाधिवेशनको उद्घाटन अध्यक्षत्रय पशुपति शमशेर राणा,प्रकाशचन्द्र लोहनी र कमल थापाले संयुक्त गर्नेछन ।
वि.सं.२०७८ मंसिर ६ सोमवार १०:०८ मा प्रकाशित





























