भक्तपुर । नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सदस्य महेश बस्नेतले सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । सोमबार मध्यपुरथिमिको सम्पर्क कार्यालयको उद्घाटन गर्दै उनले सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।
पार्टी र देशका लागि युवा पुस्ताको भूमिका बढाउन, अध्यक्ष केपी शर्मा ओली र एमालेको रक्षा कवचको रुपमा मुलुकको युवा शक्तिलाई परिचालन गर्न आफूले सचिव पदमा उम्मदवारी दिने निर्णय गरेको उनले बताए । आफू युवा सङ्घको अध्यक्ष हुँदा होस् वा एमालेको केन्द्रीय सदस्य हुँदा पार्टीकै पक्षमा युवालाई एकताबद्ध बनाउन काम गरेको बताउँदै उनले आगामी दिनमा एमालेमा ऊर्जावान युवाको प्रवेश गराउन पनि उम्मेदवारी घोषणा गरेको बताए ।
उनले आफूले सचिव पदमा उम्मेदवारी दिने १० आधारसमेत प्रस्तुत गरेका छन् । सो आधारपत्रमा उनले आफू मन्त्री हुँदा गरेका कार्य र आगामी दिनमा पार्टी र देशलाई दिनसक्ने योगदानहरुका बारेमा उल्लेख गरेका छन् ।
जित्ने आधार कति ?
एमालेमा नवौं महाधिवेशनबाट सचिव भएका योगेश भट्टराई, गोकर्ण विष्ट र भीम आचार्यलगायत नेताहरु पनि सचिवकै आकांक्षी देखिएका छन् । उपमहासचिवमा सम्भावना कम भएको देखेसँगै प्रदीप ज्ञवालीले पनि सचिवमै आउने चाहना राखेका छन् ।
पूर्वमाओवादी समूहबाट आएका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु शाहलगायतका नेताहरु पनि सचिवका आकांक्षी छन् ।
अहिले गोकुल बास्कोटादेखि पद्मा अर्यालसम्मको नाम चर्चामा छ । ओलीले रुचाएका खगराज अधिकारी पनि सचिवकै दाबेदारका रुपमा उभिएका छन् । झण्डै दुई दर्जनभन्दा बढी नेताहरु सचिवको दाबेदाबर देखिन्छन् ।
यस्तोमा महेश बस्नेतको उम्मेदवार केही हल्का देखिन्छ । महेश बस्नेतको व्यवस्थापन अनिवार्य भएपनि सचिवमै हुने सम्भावना कम रहेको कतिपयको भनाई छ ।
वि.सं.२०७८ मंसिर ६ सोमवार १५:५५ मा प्रकाशित






























