काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले राजीनामा दिँदैमा मात्रै न्यायालय सुधार नहुने बताएका छन् । आफुँलाई भेट्न पुगेका नेपाल बार एशोसिएसनका प्रतिनिधिसँग ओलीले यस्तो बताएका हुन् ।
उनले प्रधानन्यायाधीशसँगै कानून व्यवसायी पनि सच्चिन आवश्यक रहेको बताए । ओलीले न्यायाधीश हटाउन आफुँ निर्णायक नरहेको पनि स्पष्ट पारे ।
‘हामीसँग दुई तिहाइ छैन, हामी निर्णायक होइनौं, कोही पनि एक्लै निर्णायक छैन,’ ओलीले भने, ‘चोलेन्द्रको गल्ती छैन भनेर भनिरहनुभएको छ, यस्तो बेलामा कसरी महाभियोग दर्ता हुन्छ ? अर्को पार्टीका नेताले चोलेन्द्रका मान्छे होइनन् मन्त्री बनाउने भनेर प्रधानमन्त्रीले पनि भन्नुभएको छ हाम्रो पार्टीका हुन् भनेर भन्नुभएको छ ।’
कानुन व्यवसायीहरुको अदालत सुधारको आन्दोलन गर्नु जायज भए पनि पूर्ण नभएको ओलीले बताए । बारका पदाधिकारीले न्यायालय सुधारका आंशिक कुरा मात्र गरेको भन्दै परामादेशको फैसला सुनाउने सबै न्यायाधीशको विषय उठाउनुपर्ने दोहोर्याए ।
‘तपाईंहरूले आंशिक कुरा मात्र गर्नुभयो । २० प्रतिशत सुधारका कुराले हुँदैन । शतप्रतिशत पुर्याएर सँगै जाऔँ,’ ओलीले भने ।
न्यायालय स्वच्छ र स्वतन्त्र भएर मात्र नपुग्ने भन्दै ओलीले निष्पक्षता पनि हुनुपर्ने बताए । देउवालाई प्रधानमन्त्री नियुक्त गर्न दिएको परमादेशमा न्यायालयले स्वतन्त्रताको दुरुपयोग गरेको आरोप पनि लगाए, उनले ।
वि.सं.२०७८ मंसिर २१ मंगलवार १७:०९ मा प्रकाशित




























