काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडका कर्मचारीहरु गत साउन २५ देखि निरन्तर आन्दोलनमा छन् । विभिन्न माग राख्दै उनीहरुले चलाएको आन्दोलनले एकसय २० दिन पुग्दापनि उनीहरुको आन्दोलनलाई न त व्यवस्थापन पक्षले ध्यान दिएको छ नत नियमकारी निकायले नै वास्ता गरेको छ ।
आन्दोलनरत कर्मचारीहरुले कर्मचारी÷कर्मचारीबीच भएको विभेद लगायतका विभिन्न माग राख्दै यति लामो समयदेखि आन्दोलन गरिरहँद पनि संस्थाको व्यवस्थापन पक्षले वार्ता गर्न समेत मानेको छैन ।
संस्थाका कर्मचारी संगठनका अध्यक्ष पूर्ण वस्तीका अनुसार विभिन्न माग राख्दै आन्दोलन तथा धर्नाका कार्यक्रमहरु गरिरहेको एकसय एक्काइस दिन पुग्दा पनि व्यवस्थापन पक्षबाट एकपटक पनि वार्ताको प्रयास भएको छैन् ।
व्यवस्थापन पक्षले विगतमा भएका सम्झौतालाई कार्यान्वयन गर्न अनिच्छुक देखिएको तथा कर्मचारीका तर्फबाट राखिएको जायज मागहरुलाई समेत वेवास्ता गर्दै वार्ता र संवादलाई बहिष्कार गरेकाले आफुहरु आन्दोलन लम्ब्याउन बाध्य भएको वस्तीले बताए ।
अध्यक्ष वस्तीले संस्थाभित्रको समस्या भएकाले संस्थाभित्रै सुल्झाउनु पर्ने भन्दै संस्थापन पक्षलाई सकारात्मक बन्न आग्रह गरेका छन् ।
स्वावलम्बन कर्मचारी संगठनका पुर्वअध्यक्ष दिपक चौधरीले युनियनमा संलग्न भएकै कारण बैंकका सीईओले स्पष्टीकरण लिएको बताए । उनले सातजना कर्मचारीलाई सीईओले कर्मचारी विनियमावलीको नियम विपरित प्रक्रिया नपु¥याई बर्खास्त गरिएको बताए । उनले बर्खास्त गरिएका कर्मचारीहरुलाई पुर्नबहाली नगरिएसम्म आन्दोलन नरोक्ने समेत स्पष्ट पारे ।
आन्दोलनलाई वेवास्ता गरिएसँगै कर्मचारीले पछिल्लो समय कार्यकारी प्रमुखको राजीनामा माग गर्दै दैनिक रुपमा आन्दोन गरिरहेका छन् । उनीहरुले व्यवस्थापनसँग संवादबाट निकास खोज्न आग्रह समेत गरिरहेका छन् ।
वि.सं.२०७८ मंसिर २१ मंगलवार १६:५२ मा प्रकाशित





























