काठमाडौं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको पहिलो बैठक पदाधिकारी नै चयन नगरी सकिएको छ। आजको बैठकले केन्द्रीय अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चयन गरेपनि पदाधिकारी र ६३ केन्द्रीय सदस्यको मनोनयन गरेन ।
ललितपुरको सानेपामा बसेको बैठकमा प्रचण्डलाई पुनः अध्यक्षमा चयन गरेको थियो । अध्यक्ष चयन पछि प्रचण्डले केन्द्रीय समिति बैठकलाई सम्बोधन गरेसँगै बैठक स्थगित गरिएको हो ।
केन्द्रीय समितिको अर्को बैठक आगामी पुस २५ गते बस्ने जनाइएको छ ।
महासचिवको किचलोले बैठक स्थगित
माओवादीभित्र विशेषगरी महासचिव पदमा किचलो देखिएको छ । सोमबारको केन्द्रीय समिति बैठक आकांक्षीबीच सहमति जुटाउन नसकेसँगै स्थगित गरिएको हो ।
महासचिवका दाबेदार वर्षमान पुन स्वदेश फर्किँदै छन् । पुन स्वदेश फर्किएसँगै उनको सहभागितामै बैठक डाक्ने तयारी गरिएको बुझिएको छ ।
माओवादीभित्र पुनसहित महासचिवमा झण्डै आधा दर्जनजति आकांक्षी देखिएका छन् । जनार्दन शर्मा, पम्फा भुसाल, देव गुरुङ्ग, शक्ति बस्नेतलगायतले महासचिवको दाबी गरिरहेका छन् ।
वि.सं.२०७८ पुस १९ सोमवार १८:१० मा प्रकाशित




























