काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नवनिर्वाचित अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फेरि आफ्नो काँधमा निकै ठुलो जिम्मेवारी आएको बताएका छन् । सोमबार अध्यक्षमा निर्वाचित भएपछि केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरे हुन् ।
उनले पार्टी नेतृत्वको रुपमा आफुले अवसर पाएको बताए । प्रचण्डले अर्को पटक पार्टी अध्यक्षमा नदोहोरिने पनि संकेत गरेका छन् ।
“आठौँ महाधिवेशनबाट साथीहरूले मलाई महत्वपूर्ण जिम्मेवारी दिनुभएको छ, यो ऐतिहासिक जिम्मेवारी देश र जनतामा समर्पित गर्नेछु”, अध्यक्ष प्रचण्डले भने, “यो मेरालाई अन्तिम अवसर हो देश र जनताका लागि काम गर्ने, सम्भवतस् यो नै मेरा लागि अन्तिम चुनौती पनि हुने छ ।”
उनले राजनीतिक परिस्थितिले पुनः नेतृत्वमा आउने अवस्था बनेको बताए । उनले आफुलाई बेला–बेला राजनीतिको सक्रिय भूमिकाबाट बाहिर जान पनि खोजेको बताए ।
“लामो समय नेतृत्वमा बस्दा अब त भिन्न भूमिकामा जाने बेला आएन र ! भन्ने लाग्छ,” प्रचण्डले भने, “तर, देशको परिस्थिति हेर्दा छोडेर हिँड्ने अवस्था बनेको छैन ।”
प्रचण्डले माओवादीमा विस्तारै नेतृत्वको पनि विकास भइरहेको बताए । उनले प्रचण्ड बिना पनि माओवादी आन्दोलन मजबुद ढंगबाट अगाडि बढ्ने अवस्था रहेको उल्लेख गरे ।
वि.सं.२०७८ पुस १९ सोमवार १७:४९ मा प्रकाशित




























