काठमाडौं । मेडिकल कलेजमा देखिएको समस्याबारे शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल एक्सनै उत्रिएका छन् । बिहीबार काठमाडौं मेडिकल कलेज (केएमसी)को अनुगमन गर्दै मन्त्री पौडेलले बढी शुल्क नलिएको प्रमाण पेश गर्न सञ्चालकलाई निर्देशन गरे ।
मन्त्री पौडेलले बढी शुल्क लिइएको भेटिए तत्कालै कारबाही गरिने चेतावनी पनि दिए । केएमसीका प्रिन्सिपल रतिन्द्रनाथ श्रेष्ठलाई उनले बढी शुल्क नलिएको कुरा प्रमाणि गर्न भनेका थिए । अन्यथा कारबाही गर्न आफुँ पछि नहट्ने उनको चेतावनी छ ।
पौडेलले शुक्रबारभित्र बढी शुल्क नलिएको प्रमाण पेश गर्न निर्देशन दिएका छन् । कलेज सञ्चालकसँगको भेटमा उनले भनेका थिए, “बढी शुल्क नलिएको कुरा वार्ताको टेबुलमा प्रमाणित गर्नुस्, अन्यथा, कानुनानुसार कारबाही हुन्छ, भोलि बिहान १० बजे जिल्ला प्रशासन कार्यालय, विद्यार्थी र अभिभावकसँग बसेर वार्ता गर्नुहोस् ।”
अनुगमनमा मन्त्री पौडेलसँगै केएमसी पुगेकी भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले शुक्रबार बिहान साढे १० बजे विद्यार्थीसहित कलेज प्रशासनलाई वार्ताका लागि बोलाएकी छन् ।
काठमाडौं मेडिकल कलेजले अतिरिक्त शुल्क लिएको भन्दै विद्यार्थीहरु महिना दिनदेखि आन्दोलनमा छन् । विद्यार्थीहरुले शुल्क समायोजन नभएसम्म पठपाठन ठप्प पार्ने चेतावनी दिएका छन् ।
वि.सं.२०७८ पुस २२ बिहीवार १५:५४ मा प्रकाशित



























