
काठमाडौं । व्यापारिक समूह बतासको विवादमा आफ्नो नाम जोडिएको प्रति प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणाले आपत्ति जनाएकी छिन् । उनले बतास समूहसँग आफ्नो कुनै लेनादेना नै नभएको दाबी गरेकी छिन् ।
बतास समूहसँग आफ्नो नाम जोडिएर समाचारहरु प्रकाशित भएपछि बिहीबार राणाले एक प्रेस नोट जारी गर्दै सलंग्नता नभएको स्पष्टीकरण दिएकी हुन् । ‘संचार माध्यमहरुमा विभिन्न संघ संस्थाहरुमा मेरो संग्लनता भएको भनेर समाचारहरु आएकोमा मेरो ध्यानाकर्षण भएको छ’, आरजुले प्रेस नोटमा भनेकी छिन् ।
ग्रामिण महिला विकास तथा एकता केन्द्र (रुडुक), नेपाल, साथी नेपाल, सुरक्षित मातृत्व संजाल महासंघ, नामी, उल्लेन्स स्कुल र बल्ड डोनर एसोसिएसन अफ नेपालसँग मात्र संलग्नता रहेको उनको दाबी छ ।
तर, स्पष्टीकरण ‘सफेद झुट’
तर, आरजु राणाको स्पष्टीकरण भने सफेद झुट भएको स्पष्ट हुन्छ । बतास समूहको विवाद सञ्चार माध्यममा नआउन्जेल बतास समूहको एक संस्था बतास फाउण्डेशनको सल्लाहकारमा उनको नाम थियो । बतास समूहले स्पष्ट रुपमै उनलाई आफ्नो सल्लाहकारको रुपमा राखेको थियो ।
तर, नारायणहिटीको विवादमा देउवापत्नी राणाको नामसमेत जोडिएपछि बतासले भने उनको नाम आफ्नो वेभसाइटबाट हटाएको थियो । बिहीबार दिउँसोदेखि भने बतासको उक्त वेभसाइट नै बन्द छ । समूहले आफ्नो बचाउका निम्ति साइट नै बन्द गरिदिएको देखिन्छ ।
राजधानीमा व्यापार फैलाउन राणाको सहयोग
पोखरा केन्द्रीत व्यापारमा रहेको बतास समूह अहिले केन्द्रीय राजधानीमा काठमाडौंमा पनि छिरेको छ । काठमाडौंमा व्यापार फैलाउन समूहले आरजु राणाको सहयोग लिएको स्रोत बताउँछ ।
पोखरामा केन्द्रीय कार्यालय बनाएको बतासले अहिले क्रमशः काठमाडौं उपत्यकामा पनि आफ्ना कर्पोरेट कार्यालय बनाएको छ । समूहले विशेषतः बतास फाउण्डेशनको नाममा राजनीतिक तहका मान्छेहरुलाई समेटेर लाभ लिने तरिका अपनाएको देखिन्छ ।
नारायणहिटीभित्र बतासको प्रवेश पनि राजनीतिक संरक्षणमै भएको स्पष्ट हुन्छ । पोखराको मणिपाल अस्पताल र नारायणहिटीको जग्गा हात पार्न बतासले ठूलै राजनीतिक सहयोग लिएको थियो । स्रोतले बताएअनुसार एमालेको ओली समूहदेखि कांग्रेससँग राम्रो सहकार्य बनाएको थियो । एमाले र कांग्रेसको सहयोगमै नारायणहिटीको जग्गा कौडीको भाउमा हात पारेको देखिन्छ । स्वतः सरकारको हुने मणिपाल अस्पताल खरिदमा पनि बतास समूहले ठूलै रकम खर्चिएको थियो ।
समूहको आँखा नै सरकारी जग्गामा
बतास समूह अहिले मात्रै होइन पोखराका विभिन्न सार्वजनिक ठाउँका जग्गासँग जोडिएर पटक–पटक विवादमा तानिने गरेको छ । कृषि सामाग्री कम्पनी लिमिटेडको पृथ्वीचोक पोखरास्थित झण्डै २० रोपनीको जग्गा समूहले लामै समयदेखि कब्जामा जमाउँदै आएको छ । पोखराको राष्ट्रिय सभागृह आफ्नोमा पार्न समूहले निकै कसरत गरेको थियो ।
पोखरा नगर विकासका विभिन्न ठाउँमा रहेका जग्गामा पनि बतासले कौडीको भाउमा व्यवसाय गर्दै आएको छ ।