काठमाडौं । पुस २६ गते मंगलबारसम्म विनियोजित बजेट मध्ये पुँजीगत खर्च जम्मा ९ दशमलब ३९ प्रतिशत भएको छ ।
चालु आबको ६ महिना समयावधीमा भएको पुँजीगत खर्चको अवस्थालाई हेर्दा बाँकी अवधिमा उक्त शिर्षकमा गरिएको विनियोजित रकम खर्च हुने कुरामा सामान्यतया असम्भव जस्तै देखिन्छ । तर अर्थमन्त्री जनार्दन शर्माले भने चालु आर्थिक वर्षको बाँकी समयमा शतप्रतिशत पुँजीगत खर्च गर्न मन्त्रालयहरुसंग आग्रह गरेका छन् ।
मन्त्री शर्माले मंगलबार सिंहदरबारमा आयोजित समिक्षा कार्यक्रममा मन्त्रालयका सचिवहरुसंग आर्थिक वर्ष सकिन बाँकी रहेको ६ महिनामा खर्च गरिसक्न आग्रह गरेका हुन् । समिक्षा बैठकमा सचिवहरूसँग मन्त्री शर्माले भने, ‘ आवश्यक परे मध्यरातमा पनि सहयोग गर्न तयार छु । आर्थिक वर्षको ६ महिना बितिसक्यो । बाँकी ६ महिनामा शतप्रतिशत बजेट खर्च गर्नुपर्छ ।’
ठूला योजनामा स्थानीय तह र स्थानीयवासीलाई समेत सहभागी गराएर अगाडि बढाउनुपर्नेमा अर्थमन्त्री शर्माको धारणा रहेको छ । ठूला योजनामा अपनत्वका लागि स्थानीयवासीलाई सहभागी गराएर मात्र छिटो काम गर्न सकिने धारणा मन्त्री शर्माले राखेका थिए ।
विद्यमान प्रणालीमा सुधार गर्नुपर्ने आवश्यकता औंल्याउँदै उनले फाइल हरेक मन्त्रालयमा बोकेर हिँड्दा ढिला हुने भन्दै डिजिटल माध्यममा लैजानुपर्ने समेत बताए ।
सो सम्बन्धमा मन्त्री शर्माले भने, ‘फाइल बोकेर विभाग, मन्त्रालय धाउँदा दुई÷चार दिन जान्छ । यहाँ पनि समय गइरहेको छ’, उनले भने, ‘यसलाई डिजिटल माध्यममा लैजानुपर्यो । डिजिटलमै अनुरोध गर्ने र स्वीकृति गर्ने हुनुप¥यो । टिप्पणी उठाएर राख्ने काम आफ्नो ठाउँमा गर्नुपर्छ ।’
अर्थमन्त्रालय सम्हालेपछि मन्त्री शर्माले पुँजीगत खर्च वृद्धिको लागि ताकेता गर्दै आएका छन् । तर पुँजीगत खर्च शतप्रतिशत गर्ने भन्ने कुरा भने नेपालको इतिहासमा हालसम्म नभएको कुरा हो । पछिल्ला पाँच आर्थिक वर्षको वार्षिक औसत हेर्ने हो भने पुँजीगत खर्चको प्रगति ६६ प्रतिशत हाराहारी मात्रै रहेको छ । वार्षिक रूपमा विनियोजित पूँजीगत खर्चमध्ये आर्थिक वर्ष २०७२/७३ मा ५९ प्रतिशत र आर्थिक वर्ष २०७३÷७४ मा ६७ प्रतिशत खर्च भएको तथ्याङ्क छ ।
यसैगरी, आर्थिक वर्ष २०७४/७५ मा ८० प्रतिशत र आर्थिक वर्ष २०७५/७६ मा ७७ प्रतिशत पुँजीगत खर्च भएको देखिन्छ । आर्थिक वर्ष २०७६/७७ मा पुँजीगत खर्चको यो मात्रा अझै खस्किएर ४६ प्रतिशतमा सीमित हुनपुगेको थियो । गत आर्थिक वर्षमा वार्षिक विनियोजित रकमको ६४ दशमलब ६९ प्रतिशत रकम खर्च गर्न सफल भएको थियो । पुस २६ गते सोमबारसम्मको तथ्याङ्कअनुसार पुँजीगत खर्च ९.३९, चालु खर्च ३८.९ र वित्तीय खर्च २५.४१ प्रतिशत खर्च भएको छ । औसतमा हालसम्म २९.११ प्रतिशत बजेट खर्च भएको छ ।
वि.सं.२०७८ पुस २८ बुधवार ०९:३७ मा प्रकाशित




























