
काठमाडौं । नेपालमा आज एकैदिन १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६ कोरोना संक्रमितको मृत्यु भएको हो । नेपालमा पछिल्ला केही दिनयता कोरोना संक्रमित ह्वात्तै बढेपनि मृत्यु दर कम रहेको थियो । तर, शनिवार यो संख्या ह्वात्तै बढेको हो ।
आज थपिएका १६ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ६५१ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा एन्टिजेन र पिसीआर विधिबाट गरिएको २० हजार १८७ नमु्ना परीक्षणमा १० हजार ३५४ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका सहप्रवक्ता डा. समीर कुमार अधिकारीका अनुसार आज उपत्यकाको काठमाडौंमा ३७६२, भक्तपुरमा ४३४ र ललितपुरमा ११२०, जनासँगै ५ हजार ३१६ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थपिएका १० हजार २५४ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या १० लाख १५ हजार ५८१ पुगेको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा ७०८ जनामा कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ७०८ जनासँगै नेपालमा कोरोनाबाट मुक्त हुनेको संख्या ८ लाख २० हजार २८३ पुगेको छ ।
मन्त्रालयको विवरण अनुसार हाल ७२ हजार ८६२ जना सक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेशनमा ७१ हजार २६१ र १,६०१ जना संस्थागत आइसोलेशनमा रहेका छन् । ती मध्ये २१० जना आइसीयु र ३७ जना भेन्टिलेटरमा उपचाररत छन् ।
त्यसैगरी पछिल्लो २४ घण्टामा देशैभरी १ लाख ९६ हजार ८५७ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । यो सँगै नेपालमा हालसम्म खोप लगाउनेको संख्या २ करोड ९१ लाख ४३ हजार ८१६ पुगेको छ ।