काठमाडौं । हाल देशैभरी पश्चिमी वायुको सामान्य प्रभाव रहेका कारण अझै केहीदिन मौसममा सुधार आउने संकेत देखिदैन ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो प्रदेश नं १, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहि अन्य प्रदेशमा आंशिक बदली रहनेछ । साथै प्रदेश नं १ का एक वा दूई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै राति पनि प्रदेश नं १, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहि अन्य प्रदेशमा मौसम आंशिक बदली देखि सामान्यतया सफा रहनेछ ।
देशका पूर्वी तथा पश्चिमी भू–भागका उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दूई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
देशका तराई भू–भागहरुमा बिहानपख हुस्सु/कुहिरो लाग्ने सम्भावना रहेकोले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन समेत महाशाखाले अनुरोध गरेको छ ।
त्यस्तै आज काठमाडौंको न्यूनतम तापक्रम ५ डिग्री र अधिकतम तापक्रम १६.९ मापन गरिएको छ भने आज जुम्लाको तापक्रम माइनस ३.२ र अधिकतम १४.५ मापन गरिएको छ ।
वि.सं.२०७८ माघ २५ मंगलवार ०९:०३ मा प्रकाशित






























