काठमाडौं । बीमा समितिले माग गरेको शैक्षिक योग्यता सम्बन्धी विवरण सबै बीमकहरुले बीमा समिति समक्ष पेश गर्दैछन् । समितिले शैक्षिक योग्यतासम्बन्धी विस्तृत विवरण माग गरेपछि बीमा कम्पनीमा प्रभावको आधारमा जागिर पाएका नक्कली प्रमाणपत्रधारीहरु समस्यामा पर्ने भएका छन् ।
अहिले बीमा समितिले झण्डै दशकपछि शैक्षिक योग्यताको विषयमा बीमा कम्पनीहरुसँग विवरण माग गरेको हो । यो एक दशकको अवधिमा नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर जागिर खाएका र पदोन्नती भएकाहरुको पद धरापमा पर्नेभएको छ ।
नेपालको सबैभन्दा पुरानो नेपाल इन्स्योरेन्समा अझै एक कर्मचारी नक्कली प्रमाणपत्रधारी भएर पनि काम गरिरहेका छन् ।
सो कम्पनीले २ वर्ष अघिनै नक्कली प्रमाणपत्रधारी २ कर्मचारीलाई कम्पनीबाट हटाइसकेको छ । त्यस्तै युनियन लाइफको मधेस प्रदेशमा कार्यरत नक्कली प्रमाणपत्रधारी एक कर्मचारीले पनि अहिले कम्पनीमा कार्यरत अवस्थामा रहेका छन् ।
सगरमाथा इन्स्योरन्सले पनि केही महिना अगाडि गण्डकी प्रदेशमा नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर काम गरिरहेका कार्यरत एक कर्मचारीलाई हटाइसकेको छ । यी केही उदाहरणका बाबजुद नेपालका बीमा कम्पनीहरुमा अझै पनि २५ प्रतिशत कर्मचारी नक्कली प्रमाणपत्रधारी रहेका बीमा विज्ञहरुको धारणा छ ।
केही कम्पनीका सीईओलेनै घुमाउरो बाटोबाट विदेशी शैक्षिक प्रमाणपत्रको गलत व्याख्या गर्दै आफू योग्य भएको भन्दै नियामकलाई आर्थिक प्रलोभनमा पारेर जागिर खाइरहेको आशंका गरिएको छ ।
बीमा समितिले एक साता अघिमात्रै नक्कली शैक्षिक योग्यताको प्रमाणपत्रबारे छानबिन गर्ने बताएको छ ।
विदेशी विश्वविद्यालयको सर्टिफिकेटको आधारमा बीमा कम्पनीहरुमा जागिर खाएका कतिपय कर्मचारीहरुले बीमा समितिले प्रमाणपत्रको छानबिन गर्ने प्रसंग चलेपछि जागिर छोड्ने गरेको बताइन्छ ।
बीमा समितिले शैक्षिक योग्यता सम्बन्धी विवरणको आधारमा शंकास्पद देखिएका कर्मचारीहरुको हकमा बीमा कम्पनीहरुसँग जहिलेपनि विस्तृत विवरण माग्न सक्दछ ।
अहिले बीमा समितिले कम्पनीहरुलाई विदेशी बोर्ड वा विश्वविद्यालयबाट शैक्षिक प्रमाणपत्र हासिल गरेका कर्मचारीहरुको हकमा नेपाली समकक्षतासम्बन्धी विवरण समेत खुलाउन बीमा समितिले निर्देशन दिएको छ ।
त्यस्तै राष्ट्रिय परिक्षा बोर्ड, त्रिभूवन विश्वविद्यालयलगायत अन्य विश्वविद्यालयबाट समकक्षता प्राप्त गरेका कर्मचारीहरुको हकमा समकक्षता प्राप्त गरेको मिति समेत उल्लेख गर्नुपर्ने निर्देशन दिएको छ ।
केही विदेशी विश्वविद्यालयको नेपालस्थित शाखा वा विदेशी खुल्ला विश्वविद्यालयबाट शैक्षिक योग्यता हासिल गरेका र केही प्राविधिक विषयहरुको शैक्षिक योग्यता सम्बन्धमा नेपालमा समकक्षता उपलब्ध छैन ।
यस्तो विश्वविद्यालयबाट औपचारिक अध्ययन पुरा गरेर परिक्षामा सहभागी भई शैक्षिक योग्यता हासिल गरे पनि समकक्षता भने उपलब्ध नभएको अवस्था हुन्छ । बीमा समितिले समकक्षता भएको अवस्थामा समकक्षता उल्लेख गर्न निर्देशन दिएको छ ।
वि.सं.२०७८ माघ २६ बुधवार २१:४२ मा प्रकाशित






























