काठमाडौं । बाराकी रुबी शाहलाई १०,००० डलर बराबरको जोन्टा इन्टरनेशनल २०२१ जेनएम क्लाउजम्यान (जेएमके) वुमन इन बिजनेस छात्रवृत्तिबाट सम्मानित गरिएको छ ।
उनलाई जोन्टा क्लब अफ काठमाडौं–२५, क्षेत्र २ बाट मनोनयन गरिएको थियो र पुरस्कारको लागि आवेदन जोन्टा इन्टरनेशनल डिस्ट्रिक्ट छनोटमा पठाइएको थियो ।
जहाँ उनले थप २००० डलर पनि प्राप्त गरिन् । उनीसँगै अरु ३२ जनाले २००० डलर बराबरको थप छात्रवृत्ति पनि प्राप्त गरेका थिए । यसका साथै उनले संयुक्त राज्य अमेरिकाको इलिनोइसस्थित जोन्टा हेडक्वार्टरबाट थप ८००० डलर पनि प्राप्त गरेकी छिन् ।
उनी शैक्षिक वर्ष २०२१–२०२२ को लागि यस अन्तर्राष्ट्रिय छात्रवृत्ति प्राप्त गर्ने विश्वभरका छ जना क्षमतावान प्रतिभाहरु मध्ये एक हुन् ।
१९ वर्षको उमेरदेखि नै रुबीले विभिन्न विधामाहरूमा व्यवसाय इन्क्युबेशन, कन्टेन्ट क्रिएसन, मार्केटिङ, र परामर्श सेवाजस्ता धेरै स्टार्टअपहरुसँग काम गरिरहेकी छिन् । उनी उद्यमी नेपालीको पूर्व प्रमुख अपरेटिङ अफिसर पनि हुन् ।
त्यहाँ उनले कम्पनीको कर्मचारीहरुलाई मार्गदर्शन गर्ने र उद्यमीहरूका लागि आवश्यक सामग्रीहरु बनाउने देखि लिएर कार्यक्रम संयोजन गर्ने विषयमा रणनीतिहरु बनाइन् । हाल उनी कीर्तिपुरको रोटरयाक्ट क्लबको चार्टर प्रेजिडेन्टको रूपमा नेतृत्व गरिरहेकी छिन् जहाँ उनले ४० भन्दा बढि स्थानीय युवाहरूसँग मिलेर सामुदायिक परियोजनाहरु र क्षमता विकास सम्बन्धि कार्यक्रमहरू संयोजन गरिरहेकी छिन् ।
रुबीले सन् २०१९ मा मलेसियामा भएको अन्तर्राष्ट्रिय युवा संलग्नता सम्मेलनमा एसडिजि प्रस्तोताको रुपमा नेपालको प्रतिनिधित्व गरिन्, जहाँ उनले ’नेपालमा महिलाहरूलाई सशक्तिकरण गर्न युवा क्लबहरुको भूमिका’ भन्ने विषयमा प्रेजेन्टेसन दिएकी थिइन् । त्यहाँ उनले लैंगिक समता र समान पेशागत र आर्थिक वृद्धि हासिल गर्न युवा केन्द्रहरुको भूमिकाको विषयमा वकालत गरेकी थिइन् ।
वि.सं.२०७८ माघ २६ बुधवार २१:४५ मा प्रकाशित






























