काठमाडौं । नेपालको बर्तमान परिवर्तनको मुख्य आधार ‘जनयुद्ध’ लाई नै बिद्रुपीकरण गरिएकोप्रति सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् ।
२७ औं जनयुद्ध दिवसका अवसरमा आयोजित एक कार्यक्रममा ‘जनयुद्ध’ का उपलब्धि नै शून्य पार्ने गरी विद्रुपीकरण बढेकोमा साहित्यकार, राजनैतिक नेता तथा बुद्धिजीवीहरुले चिन्ता व्यक्त गरेका हुन् ।
जनसांस्कृतिक महासंघ नेपालको आयोजनामा गरिएको ‘नेपाली साहित्यमा जनयुद्धको प्रभाव’ विषयक गोष्ठिमा सहभागी वक्ता, टिप्पणीकार तथा कविहरुले कमजोरीका रचनात्मक आलोचना स्वभाविक मानिएपनि जनयुद्धलाई कुरुप पार्ने नियतबाट बढाइएका हमलाहरु प्रति राजनैतिक नेतृत्व तथा प्रगतिवादी साहत्यिकारहरु एकजुट हुनुपर्ने धारणा राखिएको थियो ।
सो कार्यक्रमको अध्यक्षता गर्दै महासंघका अध्यक्ष मातृका पोखरेलले जनयुद्धले नेपाली समाजमा पुर्याएको योगदानको सापेक्ष साहित्य क्षेत्रबाट न्याय नमिलेृको अनुभुति व्यक्त गर्दै जनयुद्धको निष्ठा र लक्ष्यलाई पक्रेर अघि बढ्नुपर्ने बताएका थिए ।
केशव सिलवालको उद्घोषण र बिमला केसीको स्वागत मन्तव्यबाट शुरु भएको सो कार्यक्रममा वरिष्ठ समालोचक डा. मधुसुदन गिरीले कार्यपत्र पेश गरेका थिए ।

नेकपा (माओवादी केन्द्र) को मुख्यालय पेरिसडाँडामा आयोजित सो कार्यक्रममा प्रमुख टिप्पणीकार प्रा.डा ताराकान्त पाण्डेले जनयुद्धकालीन समयका विभिन्न पात्र, प्रवृत्ति, योगदान र कमजोरीका बारे थप समेटिनुपर्ने धारणा राख्दै आदर्शको स्खलन साहित्यमा समेत परेको बताए ।
कार्यक्रमका अर्का टिप्पणीकार डा. राजेन्द्र प्रसाद अधिकारीले द्धन्द्धले उठाएका विषयमा थप अन्वेषण हुन सके साहित्यको भूमिका पूरा हुने धारणा राखेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि तथा नेकपा (नेकपा माओवादी केन्द्र) का नेता हितमान शाक्यले जनयुद्धको राजनीति तथा विचार र दर्शनमा पारेको गहिरो प्रभाव तथा समाज रुपान्तरणको संवाहकका रुपमा निर्वाह गरेको उपलब्धि प्रति साहित्यीक क्षेत्रबाट न्याय हुन नसकेको टिप्पणी गरे । उनले जनयुद्धका राम्रा कुरा लुकाएर नराम्रा विषय उचाल्ने र विद्रपीकरण गर्ने प्रवृत्तिसँग लड्न जरुरी भएको धारणा राखे ।

कार्यक्रममा अर्का अतिथि वक्ता नेपाल बुद्धिजीवी संगठनका केन्द्रीय सहसंयोजक नीलकण्ठ तिवारीले जनयुद्धका उपलब्धि र गौरवसँगै राजनैतिक जटिलता र वर्तमान संक्रमणका बारे साहित्य जिम्मेवार बन्नुपर्ने सुझावसहित एमसीसी विरुद्धको आन्दोलनमा सबै जनवर्गिय संंगठन, पेशाकर्मी र नागरिक समाज एकजुट हुनुुपर्ने प्रस्ताव राखेका थिए । कार्यक्रममा समालोचक डा. बालकृष्ण अधिकारीले जनयुद्धलाई दर्शनको रुपमा व्याख्या गरिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा जनवादी गायक केशर कालिकोटे र धनु ज्ञाङगी मगरले गीत तथा कवि बलराम तिमील्सीना, प्रथा, सुधा मैनाली, मातृहाङ नेम्वाङ, सीता शर्मा, वावा बस्नेत लगायतले कविता प्रस्तुत गरेका थिए ।
दुर्गा नारायण ढकालद्धारा लिखित पुस्तक ‘संक्षिप्त ऐतिहासिक दर्पण’ को विमोचन प्रमुख अतिथि शाक्य र अध्यक्ष मातृका पोखरेलबाट भएको थियो भने डा.धनप्रसाद सुवेदीले सो पुस्तक वारे समिक्षा मन्तव्य राखेका थिए ।
वि.सं.२०७८ फागुन ३ मंगलवार १३:४२ मा प्रकाशित






























