
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल आइसिसी टी–२० विश्वकप क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेकामा नेपाली टोलीलाई बधाई ज्ञापन गरेकी छन् ।
ओमानमा जारी टी–२० विश्वकप क्रिकेट छनोट खेलमा नेपाल सेमिफाइनलमा प्रवेश गरेपछि आज साँझ ट्विट गर्दै राष्ट्रपति भण्डारीले नेपाली क्रिकेट टोलीका खेलाडी, प्रशिक्षक तथा पदाधिकारीलाई हार्दिक बधाई दिएकी हुन् ।
‘ओमानमा जारी टी–२० विश्वकप क्रिकेट छनोट खेलमा क्यानडालाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गर्न सफल नेपाली टोलीले विश्वकप क्रिकेट खेलेको हेर्न चाहने खेलप्रेमीको अपेक्षा पूरा गर्न सफल हुनुहोस्, अग्रिम शुभकामना!’राष्ट्रपति भण्डारीले ट्विटमा लेखेकी छन् ।
त्यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवाले पनि नेपाली क्रिकेट टोलीलाई बधाई दिएका छन् ।
ओमानमा जारी टी–२० विश्वकप क्रिकेट छनोट खेलमा नेपाल सेमिफाइनलमा प्रवेश गरेपछि आज साँझ ट्विट गर्दै प्रधानमन्त्री देउवाले क्यानडाविरुद्ध आठ विकेटको जीत निकाल्दै ‘टी–२० विश्वकप ग्लोबल छनोट’को सेमिफाइनल प्रवेश गर्न सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई हार्दिक बधाई दिएका हुन् ।
प्रधानमन्त्री देउवाले ट्विट गर्दै भनेका छन् “क्यानाडाविरुद्ध जीत निकाल्दै टी– विश्वकप ग्लोबल छनोटको सेमिफाइनल प्रवेश गर्न सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई हार्दिक बधाई । मङ्गलबार हुने सेमिफाइनलमा पनि विजयी हुँदै नेपाललाई विश्वकपमा छनोट गराउन सफल हुनुहुनेछ भन्ने सुभेच्छासहित सम्पूर्ण टोलीलाई शुभकामना व्यक्त गर्दछु ।”
क्यानडालाई पराजित गर्दै विश्वकप क्रिकेट छनौटको सेमिफाइनलमा पुग्यो नेपाल
वि.सं.२०७८ फागुन ९ सोमवार २०:३२ मा प्रकाशित