काठमाडौं । नेकपा (एमाले)ले अमेरिकी सहयोग परियोजना (एमसीसी) कार्यान्वयन हुनुपर्ने बताएका छन् । संसदबाट अनुमोदन भइसकेको एमसीसी राष्ट्रको हित प्रतिकुल नहुने गरि कार्यान्वयन गर्नेपर्ने एमालेको भनाई छ ।
मंगलबार पत्रकार सम्मेलन गर्दै एमालेले पारित भइसकेको एमसीसीका बारेमा राष्ट्रको जनमतलाई थप विभाजित गर्नु हानिकारक हुने निष्कर्ष निकालेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीद्धारा जारी विज्ञप्तिमा भनिएको छ, “एमसीसी परियोजनासम्बन्धी सम्झौता संसदबाट अनुमोदन भइसकेको छ । अब राष्ट्रको हित प्रतिकूलन हुने गरी यसको कार्यान्वयन हुनुपर्दछ । पारित भइसकेको परियोजनाका बारेमा राष्ट्रको जनमतलाई थप विभाजित गर्नु हानिकारक हुन्छ ।”
एमसीसी सम्झौतालाई विवादास्पद बनाउने काम गठबन्धनबाटै भएको एमालेको आरोप छ । “एमसीसी सम्झौता अहिलेका सत्तागठबन्धनमा रहेका दलहरुले गरे, यसलाई विवादास्पद पनि तिनै गठबन्धनका नेताहरुले बनाए, सम्झौता आफूले गरे, जनताले जवाफ माग्दा उत्तर दिनुको साटो प्रश्न एमसीसीतिर तेस्र्याए”, अध्यक्ष ओलीद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।
सरकारबाट हटाउन र एमाले फुटाउन एमसीसीको प्रयोग
ओलीले आफुँलाई तत्कालिन समय सरकारबाट विस्थापित गर्न र एमाले विभाजन गराउन एमसीसीलाई हतियारको रुपमा प्रयोग गरिएको आरोप लगाएका छन् । आफुँलाई सत्ताबाट फाल्न तत्कालिन समय एमसीसीको बारेमा गरिएको दुष्प्रचारको अवस्था रहीरहेको उनले बताए ।
“एमसीसीसम्वन्धी मुद्दा तत्कालीन नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदच्यूत गर्ने लक्ष्यसहित विकृत रुपमा शुरु गरिएको योजनाबद्ध दुष्प्रचार थियो”, उनले भनेका छन्, “हाम्रो पार्टी विभाजनको लागि समेत हतियारको रुपमा यसैलाई प्रयोग गरे । हाम्रो पार्टी यसखाले दुःषित अभियानमा संलग्नहरुप्रति खेद प्रकट गर्दछ ।”
वि.सं.२०७८ फागुन १७ मंगलवार १४:१६ मा प्रकाशित






























