
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले महाकाली सन्धीबाट नेपालले लाभै लाभ उठाइरहेको दाबी गरेका छन् । मंगलबार एमसीसीको विषयमा विशेष पत्रकार सम्मेलन गर्दै उनले यस्तो दाबी गरेका हुन् ।
ओलीले महाकाली सन्धीमार्फत नेपालले ७ मेगावाट विद्युत र वार्षिक ४ अर्ब पैसा पाउने गरेको दाबी गरे । “महाकाली नदीको पानीमा हाम्रो आधा हक छ, हामीले ७ मेगावाट विद्युत निःशुल्क पाउनुपर्छ, र अहिले हामी अरबौं रुपैयाँ (वार्षिक ४ अरब रुपैयाँ) पाउने गरेका छौं”, महाकाली सन्धीबाट नेपाल ठगिएको भन्ने प्रश्नमा जवाफ दिँदै ओलीले भने, “महाकाली सन्धी ठिक थियो, त्यसमा पनि भ्रम फिजाउन खोज्ने र तथाकथित राष्ट्रवाद देखाउन खोज्ने काम गलत हो ।”
उनले महाकाली सन्धी गर्दा टनकपुर सन्धीमा जस्तो झुटा कुरा र त्रुटीपूर्णं खेल नभएको बताए । ओलीका अनुसार महाकाली सन्धी नेपालको इतिहासमै सबैभन्दा राम्रो र राष्ट्रहितको सन्धी हो ।
ओलीले सन्धीमा उल्लेख भएको तर, पुरा नभएका कतिपय कामहरु गर्न आफुँ नेतृत्वको सरकारले प्रस्ताव बनाई अगाडि बढाइरहेको र पुरा हुने अवस्थामा रहेको पनि दाबी गरेका छन् ।
तर, ओलीको भनाई ‘सफेद झुट’
महाकाली सन्धीमार्फत वार्षिक ४ अर्ब रुपैयाँ पैसा र ७ मेगावाट विद्युत नेपालले पाइरहेको भन्ने ओलीको भनाई सफेद झुट ठहरिएको छ । सन्धीसँग सम्बन्धित रहेको नेपाल विद्युत प्राधिकरणका अनुसार ओलीले भनेजस्तो नेपालले न विद्युत पाएको छ न त पैसा नै ।
विद्युत प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईका अनुसार महाकाली सन्धी वापत नेपालले मासिक ५८ लाख अर्थात् वार्षिक ७ करोड युनिट विद्युत निःशुल्क पाउने गरेको छ । ७ करोड युनिट विद्युत बाहेक अन्य कुनै पनि लाभ नेपालले नलिएको प्राधिकरणका प्रवक्ता भट्टराईले स्पष्ट पारे ।
विद्युत प्राधिकरणले भनेबमोजिम ७ करोड युनिट विद्युतको मूल्य नेपालमा करिब ३३ करोड ६७ लाख हुन आउँछ । नेपालले भारतसँग औसत प्रतियुनिट ४ रुपैयाँ ८१ पैसाको दरले विद्युत खरिद गर्दै आएको छ ।
जसको सिधा अर्थ ओलीले १२ गुणाभन्दा बढी रकम देखाएर झुट बोलेका छन् ।
तथ्यांक होइन मिथ्यांकमा ओलीको विश्वास
ओली सरकारको नेतृत्वमा छँदा पनि तथ्यांक होइन मिथ्यांक प्रस्तुत गरेर चर्चामा आइरहन्थे । उनले प्रस्तुत गरेका मिथ्यांकलाई कतिपय सञ्चार माध्यमले ‘फ्याक्ट चेक’ गरि जनतालाई सुशुचित गर्ने गरेका छन् ।
सत्ताबाट बाहिरिए पछि पनि ओलीको उक्त शैली फेरिएको छैन् । मिथ्यांकलाई प्रस्तुत गरेर जनतालाई भ्रम फिँजाउनमा माहिर देखिने ओलीको पछिल्लो अभिव्यक्तिबाट पनि स्वभाव नफेरिएको स्पष्ट हुन्छ । तत्कालिन समय महाकाली सन्धी गर्दा प्रतिपक्षमै भए पनि नेतृत्व गरेका ओलीले उक्त सन्धीको अपनत्व लिन पनि मिथ्यांकलाई प्रस्तुत गर्दै आएका हुन् ।
२५ वर्ष अघि ०५३ असोज ४ मा नेपालको संसदबाट पारित भएको महाकाली सन्धी पारित गराउन ओलीले मुख्य अग्रसरता लिएका थिए । ओलीले तत्कालिन समय सन्धी कार्यान्वयनमा आएपछि नेपालले वार्षिक १ खर्ब २० अर्ब रुपैयाँ आम्दानी गर्ने र नेपालको सबै भेगमा विद्युत पुग्ने अफबा फैलाएका थिए । उनीसँग उनको पछि लागेका तत्कालिन एमालेका महासचिव माधव नेपालले उक्त सन्धीपश्चात पश्चेश्वरबाट उत्पादित हुने बिजुली भूउपग्रहमार्फत चीनलाई बेच्ने सपना बाँडेका थिए ।