काठमाडौं । अभिनेत्री करिश्मा मानन्धर नेकपा (एमाले)मा प्रवेश गरेकी छिन् । मंगलबार बबरमहलस्थित कार्की ब्यांक्वेटमा आयोजित कार्यक्रममा अभिनेत्री मानन्धर एमालेमा प्रवेश गरेकी हुन् ।
करिश्मासँगै समाजवादी जनता पार्टीका अध्यक्ष प्रेमबहादुर सिंह पनि एमालेमा प्रवेश गरेका छन् ।
एमाले प्रवेश गरेकी करिश्माले पार्टी अध्यक्ष केपी शर्मा ओलीकै कारण एमाले रोजेको बताएकी छिन् । पार्टी प्रवेश पछि बोल्दै उनले ओली नै जनताको अगुवा भएको बताइन् ।
“नेता जनताको पथ प्रदर्शक हो, जनताको अगुवा हो”, उनले भनेकी छिन्, “त्यो सबै गुण केपी ओलीजीमा पाउँछु, त्यसैले एमाले रोजेकी हुँ ।”
उनले जनतामा सबै लोकप्रिय पार्टी नै एमालेको भएको कारण पनि आफुँ एमालेमा प्रवेश गरेको बताइन् । अभिनेत्री मानन्धरले एमालेबाट नै मुलुकको समृद्धि सम्भव भएको सुनाइन ।
मानन्धर दुई वर्ष अघि बाबुराम भट्टराई नेतृत्वको तत्कालिन नयाँ शक्तिबाट राजनीतिमा सक्रिय बनेकी थिइन् । तर, नयाँ शक्ति नै नरहेपछि उनी राजनीतिबाट टाढिएकी थिइन् ।
वि.सं.२०७८ चैत ८ मंगलवार १४:५५ मा प्रकाशित






























