काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनविना एमालेसँग चुनाव लड्न सक्ने हिम्मत कसैसँग नभएको बताएका छन् । सत्ता गठबन्धनमा रहेका दलहरूलाई एक्ला एक्लै चुनावमा लड्ने हिम्मत नै नभएको उनले बताए ।
बुधबार भक्तपुरमा सूर्यविनायक हरित कृषि थोक बजारको उद्घाटन गर्दै अध्यक्ष ओलीले पाँच दलीय गठबन्धन गरे पनि एमालेसँग भिड्न उनीहरूलाई सहज नहुने दाबी गरे । गठबन्धनका लागि एमाले पल्लाभारी भएको उनको भनाई छ ।
“पाँच दलीय गठबन्धन एक(एक किलाका ढक हुन् । एमाले क्विन्टलको ढक हो । एउटै तराजुमा ती दुवै ढक राख्दा के हुन्छ”, उनले भने ।
सत्ता गठबन्धन लोभी पापीहरूको गठबन्धन रहेको आरोप लगाउँदै ओलीले पाँच दलसँगै आए पनि एमालेसँग भिड्न गाह्रो हुने दाबी गरे ।
निर्वाचन आयोगले मनोनयनको समय दुई दिन राखेर सत्ता गठबन्धनलाई सहज बनाइएको ओलीको भनाई छ । “निर्वाचन आयोगले मनोनयनको दर्ता दुई दिन राखेको छ । गठबन्धनमा कुरा मिल्दैन भनेर दुई दिन राखिएको हो । नत्र मनोनयन पनि दुई दिन राखिन्छ र ?”, ओलीले प्रश्न गरे ।
देशैभर एमालेको जनलहर आइरहेको देखेर अन्य दल त्रसित भएको उनको भनाई छ । ओलीले भनेका छन्, “अन्य दलका नेता कार्यकर्ता रित्तिन लागेका छन्, हाम्रो पार्टी भरिन लागेको छ, यो जनलहर आगामी चुनावमा एमालेलाई विजयी गराउनको लागि हो ।”
सम्बन्धित समाचार
प्रचण्ड र माधवले एक सिट जित्दैनन् भन्दै दुर्गा प्रसाईँले भने –जिते मेरो सम्पत्ति सबै उनीहरुलाई
वि.सं.२०७८ चैत १६ बुधवार १४:०८ मा प्रकाशित






























