काठमाडौं । पाकिस्तानमा राजनीतिक संकट निरन्तर गहिरिँदै गएको छ । इमरान खानको कुर्सी बच्ने कि बचाउने भन्ने काउन्टडाउन सुरु भएको छ । पछिल्लो जानकारीअनुसार पाकिस्तानको संसदमा आज अपराह्न ४ बजे अविश्वासको प्रस्तावमाथि छलफल सुरु हुनेछ ।
यसैबीच, इमरान खानले अविश्वासको प्रस्तावमाथिको बहसअघि नै एनएससीको बैठक बोलाएका छन् । यसबाहेक विपक्षी दलको बैठक पनि संसद बैठक अघि नै बस्दैछ ।
इमरानले राष्ट्रका नाममा सम्बोधन गर्ने
इमरान खानका मन्त्री फवाद चौधरीले केही समयअघि ट्वीट गर्दै प्रधानमन्त्री इमरान खानले बिहीबार राति राष्ट्रका नाममा सम्बोधन गर्ने जानकारी दिएका थिए । यद्यपि यसअघि पनि इमरान खानले ३० मार्चमा देशलाई सम्बोधन गर्ने भएका थिए तर, साँझ उनले सम्बोधन स्थगित गरेको खबर आएको थियो ।
अविश्वासको प्रस्ताव फेस गर्ने
यसैबीच पाकिस्तानी मन्त्री फवाद चौधरीले ट्विट गर्दै इमरान खान अन्तिम बलसम्म लड्ने खेलाडी भएको बताएका छन् । राजीनामा दिनुहुन्न । खेल हुनेछ, मित्र र शत्रु दुवैले देख्नेछन्।
इमरान पहिले नै अल्पमतमा छन्
वास्तवमा, विपक्षीले उनीविरुद्ध संसदमा अविश्वासको प्रस्ताव पेश गरिसकेका छन्, जसलाई पार गर्न इमरानका लागि निकै कठिन सावित हुने भएको छ । संसदमा गठबन्धनको स्थिति हेर्दा, इमरान सरकार अल्पमतमा रहेको कुरा देखिन्छ । तर, आइतबार इस्लामावादमा आयोजित र्यालीमा उनले आक्रोशित सहकर्मीहरूलाई मनाउन धेरै अपील गरे।
यसैबीच, एक वर्षअघिसम्म देशमा पूर्णरूपमा सुरक्षित देखिँदै आएको पीटीआई सरकार किन यस्तो अवस्थामा पुग्यो भन्ने अझै खुल्न सकेको छैन । सन् २०१८ मा, धेरै राजनीतिक विश्लेषकहरूले इमरान खानको सरकार आफ्नो कार्यकाल पूरा गर्ने देशको पहिलो यस्तो सरकार हुनेछ भन्ने विश्वास पनि गरेका थिए । तर, यो अविश्वासको प्रस्तावले प्रधानमन्त्रीको चिन्ता बढाएको छ ।
वि.सं.२०७८ चैत १७ बिहीवार १५:२० मा प्रकाशित






























