Logo
२१ जेष्ठ २०८०, आईतवार
     Sun Jun 4 2023
E-paper
  English Edition
   Unicode
Logo

सकसमा गठबन्धन : एकातिर तालमेलको निर्णय, अर्कोतिर एकलौटी गर्ने दाउ



काठमाडौं । बिहीबार बसेको सत्तारुढ पाँच दलीय गठबन्धनको बैठकले आगामी स्थानीय निर्वाचनमा देशैभरि चुनावी तालमेल गर्ने निर्णय गर्‍यो । बैठकले केन्द्रदेखि तल्लो इकाईसम्म चुनावी तालमेलको लागि संयन्त्र गठनको पनि निर्णय गर्‍यो ।

बैठकले गरेको निर्णयअनुसार सोमबार केही जिल्ला तहका पार्टी कमिटीले पनि तालमेलको निर्णय गरे । केन्द्रको निर्णयअनुसार तालमेलको निर्णय भइरहँदा गठबन्धनको मुख्य दल नेपाली कांग्रेसले भने एकलौटी गर्ने मनसायले खोंचे दाउ थापेको छ ।

कांग्रेसले सबैजसो महानगरमा आफ्नो दाबी अगाडि सारेको छ । कांग्रेसले एकातिर चुनावी तालमेल गर्ने निर्णय गरेको छ भने अर्कोतिर एकलौटी दाबी प्रस्तुत गरेको छ ।

सोमबार सत्ता गठबन्धनमा रहेका दलहरुले चितवनका सातवटै पालिकामा चुनावी तालमेल गर्ने निर्णय गरेका थिए । तर, लगत्तै बसेको चितवन कांग्रेसको बैठकले भरतपुर महानगरमा आफ्नो दाबी नछाड्ने निर्णय ग¥यो ।

केन्द्रमा पाँच दलले देशभरका ६ वटा महानगरपालिकाका मेयर र उपमेयरको उम्मेदवारी केन्द्रबाटै टुंगो लगाउने सहमति पनि गरेका छन् । गठबन्धनका उच्च नेताहरुले बताएअनुसार दलहरुबीच ६ महानगरमध्ये यसअघि जितेका महानगरमा जितेका दललाई नै सघाउने र काठमाडौं र पोखराको हकमा बेग्लै सहमति गर्ने निर्णय भएको छ । कांठमाडौंमा कांग्रेस र पोखरामा एकीकृत समाजवादीलाई सघाउने निर्णय भएको छ ।

तर, कांग्रेसले केन्द्रमा बेग्लै सहमति गर्ने र चितवनको सबालमा बेग्लै दाउ खेल्ने रणनीति अगाडि सारेको छ । कांग्रेसले केन्द्रको निर्णयभन्दा फरक निर्णय गर्दै भरतपुरमा दाबी गरेको छ । यता, पोखरा र वीरगञ्जको सबालमा पनि कांग्रेसले दाबी गर्ने तयारी गरेको छ । बताइएअनुसार दुवै महानगरमा मुख्य प्रतिस्पर्धी आफुँ भएको भन्दै कांग्रेस अर्को पार्टीलाई छोड्दा हारिने तर्क गर्न अगाडि सारेको छ ।

मुख्य सकस भरतपुरमा

भरतपुरमा माओवादी केन्द्रले दाबी नछाड्ने निर्णय गरिसकेको छ । केही दिन अघि चितवन पुगेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि भरतपुरमा गठबन्धनको समर्थन माओवादी हुनुपर्ने बताएका थिए । उनले भरतपुरमा माओवादी केन्द्रको स्वभाविक दाबी रहने तर्क गरेका थिए ।

माओवादी चितवनका अध्यक्ष यमबहादुर परियार गठबन्धनको सहयोगी दलबाट असहयोग भए पनि माआवादी केन्द्रले भरतपुरमा एक्लै उम्मेदवारी दिने बताउँछन् । “गठबन्धनको सहयोगी दलबाट असहयोग भए पनि हामी एक्लै उठ्नेछौँ”, उनले भनेका छन्, “ भरतपुरको पूर्वाधार, पर्यटन र सामाजिक विकासमा कायापलट गरेकाले माओवादीको पक्षमा आकर्षण बढेको छ, जित निश्चित रहेकाले माओवादीको दाबी स्वाभाविक छ ।”

केही माओवादीका नेताहरुले भरतपुरमा सहयोग नगरे चुनावी तालमेल गर्ने विषय नै खतरामा पर्ने पनि बताएका छन् । नेता परियारले भनेका छन्,  “हामीलाई नसघाउने हो भने हामीले पनि सघाउने विषयमा समस्या हुन्छ, हामीले नसघाउने हो कांग्रेसलाई पनि सहज हुन्न । के गर्ने कांग्रेसले उपयुक्त निर्णय गर्नुपर्छ ।”

विगतलाई हेर्दा कांग्रेसलाई पनि जटिल छ भरतपुर

०७४ को स्थानीय चुनावमा भरतपुरमा माओवादी केन्द्र र कांग्रेसबीच तालमेल भएको थियो । कांग्रेसको सहयोग पाएर नै नेतृ रेणु दाहाल ४३ हजार १२७ मतसहित मेयरमा विजयी भएकी थिइन । उनले कांग्रेसको मत पाउँदा पनि एमाले उम्मेदवार देवीप्रसाद ज्ञवालीले भन्दा २०३ मत बढी ल्याएकी थिइन । तर, कांग्रेसबाट उपमेयरमा विजयी पार्वती शाहले भने मेयरले पाएको भन्दा धेरै मत ४७ हजार १९७ मत ल्याएर विजयी भएकी थिइन ।

मेयरमा दाहालले जिते पनि २९ वडामध्ये माओवादी केन्द्रले ३ वडा मात्रै वडा जितेको थियो । महानगरमा १४ वडा एमालेले र १२ वडा कांग्रेसले जितेको थियो ।

तत्कालिन मतलाई हेर्दा मुख्य प्रतिस्पर्धी एमाले, कांग्रेस र माओवादी नै हुन् । तर, अहिलेको अवस्थालाई हेर्दा भरतपुरमा कांग्रेसको अवस्था सजिलो छैन । पाँच वर्षसम्म नेतृत्व गुमाएको कांग्रेसले एकातिर जनमत गुमाएको छ भने अर्कोतिर कुनै भूमिका देखाउन नसक्दा अलोकप्रिय पनि छ । स्थानीय नागरिक कांग्रेसको मत थप घट्ने बताउँछन् । यता माओवादी केन्द्रले महानगरको निरन्तर नेतृत्व सम्हालेको कारण कांग्रेसलाई भन्दा माओवादीलाई जित्न सहज देखिन्छ ।

सम्बन्धित समाचार

चितवनका सबै क्षेत्रमा तालमेल गरेर जाने गठबन्धनको निर्णय(विज्ञप्तिसहित)


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

म्यामराज राई, भोजपुर हाल–जापान ‘सन् २०२३, मार्च १३ तारिख । थ्याङ्स गड् !’ पासाङ्

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा निरन्तर उतारचढाव आइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी

काठमाडौं । बुद्ध एयरको एटिआर ४२ को नमुना जहाज बनाएर आकासमा उडाएका चितवनका अभय

सिन्धुपाल्चोक । मेलम्चीको खानेपानी आयोजनाको मर्मतपछि पानी काठमाडौँ पठाइएको छ । यही जेठ ६

नवलपुर। जिल्ला प्रहरी कार्यालयले रु ४१ लाख बढीका पुराना सवारीसाधन बिक्री गरेको छ ।