काठमाडौं । मुलुक निरन्तर रुपमा संकटतर्फ अगाडि बढिरहेको अर्थतन्त्रका मुख्य सुचकहरुले देखाएका छन् ।
सरकारले अर्थतन्त्रमा आउन सक्ने सम्भावित संकटलाई टार्न समयमा नै कदम चाल्नुपर्ने अर्थविदहरुले बताएका छन् । यतिबेला सञ्चालनमा रहेका बैंकहरुमा लगानीयोग्य तरलताको अभाव छ । आयात दिनप्रतिदिन रुपमा बढिरहेको छ । चालु आवको सुरुवातदेखि नै रेमिट्यान्सको आप्रवाह घट्दो क्रममा छ । साथै मुलुकमा विदेशी मुद्राको सञ्चिती दिनप्रतिदिन रुपमा घट्दो क्रममा छ ।
चैत २१ गते नेपाल राष्ट्र बैंकले सम्भावित आर्थिक संकटलाई लिएर सबै वाणिज्य बैंकका सीईओहरूलाई अत्यावश्यकबाहेक कर्जा नदिन निर्देशन दिएको छ । यसअघि नै आयातमा कडाई गर्नको लागि राष्ट्र बैंकले २ पटक सम्म मार्जिन सम्बन्धी निर्देशन जारी गरेको थियो । तर मार्जिन सम्बन्धी गरिएको व्यवस्थाले पनि आयात र विदेशी मुद्राको सञ्चितीमा सकरात्मक सुधार हुन नसकेपछि मुलुकको आर्थिक क्षेत्र नियन्त्रणको लागि नयाँ कदम चाल्नुपर्ने अवस्था देखिन आएको विज्ञहरुको धारणा छ ।
मंगरबार रिपोर्टस क्लवमा भएको एक कार्यक्रमा नेपालका अर्थविद्हरूले नेपालको अर्थतन्त्रबारे आफ्नो धारणा सार्वजनिक गरेका छन् ।
कार्यक्रममा बोल्दै अर्थविद् प्रा.डा. विश्वम्भर प्याकुरेलले सरकारले समयमा नै अर्थतन्त्रमा देखिएको समस्या समाधानको लागि कदम नचाले मुलुकमा श्रीलंकाको जस्तो संकट आउन सक्ने बताए । सरकार र सरोकारवाला गम्भिर भएर समस्या समाधानको पहल गर्नुपर्ने उनको भनाई थियो । अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि समयमा नै कदम नचाल्दा श्रीलंकाले वर्तमान परिस्थिति ब्योहर्नुपरेको जनाउँदै अर्थविद् प्याकुरेलले भने, ‘आजभन्दा तीन वर्षअघि श्रीलंकामा जे खालको लक्षण अर्थतन्त्रमा देखियो, अहिले नेपालका मूलभूत आर्थिक परिसुचकहरू कताकत श्रीलंकाको तीन वर्ष अघिको जस्तो देखिएको छ ।
त्यतिबेला श्रीलंकामा बेवास्ता गरिएको थियो । अहिले उसले गम्भीर समस्या भोगिरहेको छ । त्यही भएर नेपाल गम्भीर हुनुपर्छ ।’ साथै अर्थविद् प्याकुरेलका अनुसार श्रीलंकाले वैदेशिक ऋण बढाउँदै लगेको र वैदेशिक पुँजीको अभाव देखिएपछि सो देशमा अहिलेको अवस्था देखिएको हो । श्रीलंकामा भ्रष्टाचार र परिवारबाद हावी भएको बताउँदै प्रा.डा. प्याकुरेलले नेपालमा पनि त्यस्तै अवस्था भएको भन्दै सचेत गराएका थिए ।
अर्थविद् डा. डिल्लीराज खनालले मुलुकको अर्थतन्त्र एकातर्फ ह्रासउन्मुख भएको र अर्कोतर्फ आयात व्यापक बढ्ने समस्या देखिएको भनाई राखेका थिए । आफुहरुले सरकारलाई संकट सम्भावनाबारे सचेत गराउँदै आएको र मुलुकको अर्थतन्त्र संकटोन्मुख देखिएपनि सरकारले समस्या समाधानका लागि पहल गर्न नसकेको उनको भनाई थियो ।
अर्थतन्त्रको सम्भावित संकटबारे बोल्दै अर्थविद् खनालले भने, ‘मुद्रा सञ्चितिमा समस्या आएको छ, सरकार संवेदनशील भएन, मूल्यमा ठूलो चाप पर्ने खतरा छ, रोजगारीको अवसर सिर्जना गर्ने कुरामा समस्या पनि आउनेछ, ऋणको अंश बढिरहेको छ, जिडीपीको ४३ प्रतिशत पुगेको छ । एकातिर ऋण बढ्ने अनि अर्कोतर्फ अर्थतन्त्र रसातलमा गइरहने र ठूलो समस्या आउने खतरा छ ।’ समस्या समाधानको लागि पुँजीगत खर्च बढाउनुपर्ने, विदेशी सहायताको उपभोग गर्ने क्षमता बढाउनुपर्ने र अनुत्पादक तथा फजुल खर्च कटौती गरेर समस्या समाधानको लागि बृहत रुपमा लाग्नुपर्ने कुरामा प्रा.डा. खनालको जोड थियो ।
तर, अर्थविद् डा. चन्द्रमणि अधिकारीले भने नेपालको अर्थतन्त्रको समस्या श्रीलंकाजस्तो अवस्थामा पुगीनसकेको बताएका छन् । उनले अहिले श्रीलंकामामात्रै नभएर पूरा विश्वकै अर्थतन्त्रमा फेरबदल आएको बताए । उनले नेपालको अर्थतन्त्रलाई कक्टेल अर्थतन्त्र भएको बताउँदै श्रीलंका र नेपालको अर्थतन्त्रको चरित्र नै फरक रहेको दृष्टान्त बताउँदै उनले भने, ‘श्रीलंका र हाम्रो अर्थतन्त्रको चरित्र फरक छ, श्रीलंकाको अथर्तन्त्र १६ प्रतिशत पर्यटनमा डिपेन्ड थियो, कृषिमा उसको ८ प्रतिशत हो, हाम्रो २६ प्रतिशत हो, उसले आफ्नो रिसोर्सको मिस म्यानेजमेन्ट गर्यो, अर्गानिक खेतीमा गयो, रासायनिक मल बन्द ग¥यो, उत्पादन घट्यो, बढी ब्याजको ऋण लियो, त्यो पनि छोटो अवधिको लियो ।’
पछिल्लो समय मुलुकमा बैदेशिक ऋण बढेकोतर्फ ईंगित गर्दै डा. अधिकारीले भने, ‘यो संकेत राम्रो होईन तर, हाम्रो ऋण कम ब्याजदरको छ, अनि लामो समयको छ, नेपालले माइक्रो लेभलको प्लान ल्याएन, अहिले नेपालको श्रीलंका र पाकिस्तानको अवस्था हुन्छ भन्ने होईन, मुद्राको अवमूल्यन गर्ने हो कि भन्ने कुरा आएको छ ।’ साथै उनले मुलुकको अर्थतन्त्र सुधार गर्नका लागि सरकारी खर्च बढाउनुपर्ने, बैदेशिक मुद्राको सञ्चिती बढाउनुपर्ने र उत्पानशिल क्षेत्रमा लगानी वृद्धि गर्नुपर्ने बताएका थिए ।
वि.सं.२०७८ चैत २२ मंगलवार २१:४१ मा प्रकाशित






























