back
CTIZAN AD

के विप्लवलाई देखाएर रोकिएला स्थानीय चुनाव ?

वि.सं.२०७८ चैत २९ मंगलवार

759 

shares

काठमाडौं । सत्ता गठबन्धनका केही शीर्ष नेताहरुको पछिल्ला अभिव्यक्तिले स्थानीय निर्वाचन सर्ने संकेत गरेको छ । नेताहरुले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा चुनावमा सहभागि भएमा चुनाव सार्नुपर्ने बताउन थालेका छन् ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले विप्लव समूहलाई चुनावले लैजाने विषय मुलुककै निम्ति फाइदाजनक हुने भन्दै चुनाव सार्नुपर्ने बताए । सोमबार पार्टी प्रशिक्षण कार्यक्रममा पर्वत पुगेका अध्यक्ष नेपालले मुलुकको राजनीतिक स्थायीत्वको निम्ति पनि विप्लवलाई चुनावमा लैजानुपर्ने बताएका थिए ।

“अहिलेका लागि ३० गते नै निर्वाचन हुन्छ भनेर एकलव्य भएर सोंच्नुस्, उहाँ (विप्लव नेकपा)लाई स्वागत छ”, अध्यक्ष नेपालले भनेका छन्, “विप्लवजी आउनुभयो भने चुनाव सार्न गठबन्धनका सबै साथीहरु तयार हुनुहुन्छ, विप्लव समूहलाई समावेश गर्ने कुरा निकै राम्रो हुन्छ ।”

एकीकृत समाजवादी मात्रै होइन माओवादीका केही नेताले पनि स्थानीय चुनावलाई सार्नुपर्ने बताइरहेका छन् । नेताहरु तीनै तहको निर्वाचन एकै चरणमा गर्ने पक्षमा देखिएका छन् । उनीहरुले संवैधानिकदेखि व्यवहारिक तर्कहरुका जोडेका छन् । अहिलेको नाजुक अवस्थाको अर्थतन्त्र र संवैधानिक परिधिभित्र पनि वैशाखमै चुनाव हुने कुरा उपयुक्त नभएको उनीहरुको जिकिर छ ।

तर, विप्लवभन्दा अदालतको आदेश महत्वपूर्णं

माधवकुमार नेपालले चुनाव सार्नुपर्ने धारणा बताइरहँदा केही कारण पनि अगाडि सारेका छन् । उनले वैशाखमै चुनाव गर्दा असोजमा निर्वाचित भएका प्रतिनिधिहरुले ५ वर्ष पुरा कार्यकाल काम गर्न नपाउने बताएका छन् । उनीहरुको संवैधानिक अधिकारको हनन् हुने तर्क अध्यक्ष नेपालको छ ।

हुनत् संविधानले स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल ५ वर्ष तोकेको छ र ०७४ असोज २ गते भएको निर्वाचनको आधारमा ५ वर्ष कार्यकाल पुरा हुने देखिन्न । ५ वर्षे कार्यकाल पुरा गर्न पाउनुपर्ने भन्दै सर्लाहीको भंगाह नगरपालिकाका मेयर सञ्जिवकुमार साहले सर्वोच्च अदालतमा रिट नै दर्ता गरेका छन् । जुन विचाराधीन अवस्था छ ।

धेरैको आशंका शाहले दर्ता गरेको रिटको आदेश कस्तो आउँछ भन्नेमा छ । यदि आदेश रिटको पक्षमा आएमा निर्वाचन प्रभावित हुने निश्चित छ । नेताहरुको अभिव्यक्ति पनि सोही दिशातिर नै केन्द्रीत रहेको देखिन्छ ।

चुनाव सार्न सम्भव छैन : आयोग

निर्वाचन आयोगले भने चुनाव सार्ने कुरा असम्भव भएको बताएको छ । निर्वाचन रोकिन खोजिए देशमा दुर्घटना हुने आयोगको भनाइ छ ।

मंगलबार प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनको रकेट प्रक्षेपण भइसकेको भन्दै रोक्न खोजिए दुर्घटना हुने बताए । उनले आयोग दुर्घटनाको पक्षमा नभएको स्पष्ट पारेका छन् । उनले मतपत्र छपाईदेखि अन्य धेरै कामहरु अघि बढीसकेको र थुप्रै खर्च पनि भइसकेको बताए ।

“गाडी छुटेको हैन, गाडी छुटेको भए ब्रेक लगाउन पनि सकिन्थ्यो, प्लेन भए नजिकै कुनै विमानस्थलमा अवतरण गराउनसक्ने अवस्था पनि रहन्थ्यो”, थपलियाले निर्वाचन सार्ने तर्कबारे भनेका छन्, “अहिले निर्वाचनको रकेट छुटिसकेको छ, गन्तव्यमा पुर्‍याउन नसके दुर्घटना हुन्छ ।”

आयोगले यसअघि विप्लव नेकपाका नेताहरुसँग पनि चुनाव सार्न नसकिने स्पष्ट पारेको थियो । विप्लवका नेताहरुलाई चुनावी प्रक्रिया अघि बढेको भन्दै नयाँ दल दर्ताको काम हुन नसक्ने स्पष्ट पारेको थियो ।

विप्लव नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मासहितका नेताहरु आयोग पुगेर निर्वाचन सार्न आग्रह गरेका थिए । आफ्नो दल दर्ता गरेर निर्वाचनमा सहभागि हुने वातावरण बनाइदिन उनीहरुले आग्रह गरेका थिए ।

वि.सं.२०७८ चैत २९ मंगलवार १४:४७ मा प्रकाशित