मुगु । हिमाली जिल्ला मुगुमा स्थानीयतहको निर्वाचनमा सहमति जुटाएर चुनावी तालमेल गर्न तीन दललाई सकस परेको छ ।
उम्मेदवारी मनोनय गर्ने समय नजिकीदै जाँदा मुगुमा तीन दलीय सत्तागठबन्धन गरेर स्थानीयतहमा उम्मेदवार भागबण्डा गर्न सकस भएको छ ।
कांग्रेस, माओबादी केन्द्र र नेकपा एकिकृत समाजबादीबीच सोरु गाउँपालिकामा गठबन्धन टुटने संकेत देखा परेको छ । अघिल्लो स्थानीय निर्बाचनमा कांग्रेसले जितेको अध्यक्ष पदमा यो पटक समाजबादीले दाबि गरेको र कांग्रेसले दिन नमानेपछि सत्तागठबन्धन अप्ठेरोमा परेको हो ।
सोरु गाउँपालिकाको बिषयमा माओबादी केन्द्र ‘पर्ख र हेर’ मा रहेको छ । कांग्रेस र समाजबादीबीच सहमति जुट्न नसके सोही अध्यक्ष पद आफनो हातमा पार्न सकिन्छ कि भनेर माओवादी पर्खाइमा रहेको छ ।
कांग्रेसका प्रबक्ता प्रकाश कुमार शाही गठबन्धनमा समाजबादी बाधक बनेको बताउँछन् । ‘नियम उल्लंघन गरेर समाजबादीले सोरु गाउँपालिकामा अध्यक्ष रोज्यो’ शाहीले भने ‘२०७४ सालको स्थानीय निर्बाचनमा जुन दलले जुन पद जितेको अहिले पनि उक्त पदमा सोहि दलले उम्मेदवारी दिने पाँच दलीय गठबन्धनको साँझा प्रतिबद्धता छ ।’ प्रबक्ता शाहीले यो साँझा प्रतिबद्धता कार्यान्वयन हुनुपर्ने बताए ।
समाजवादीले आफुलाई अध्यक्ष दिन कांग्रेस सहमत भए उपाध्यक्षसहित ६ वटा वडा कांग्रेसलाई दिन तयार भएपनि कांग्रेसले मानेको छैन । सहमति जुटाउन चारवटा बैठक बसे पनि निष्कर्षमा पुग्न नसकेका अवस्था छ ।
अध्यक्ष पदका लागि सहमित जुटाउन छलफल जारी रहेको नेकपा समाजबादीका अध्यक्ष धर्मबहादुर शाही बताउँछन् । सत्तागठबन्धन भंग नहोस् भन्ने हिसावले प्रयास गरेर छलफललाई निरन्तरता दिइएको उनको भनाई छ ।
बिस २०७४ सालको स्थानीय निर्बाचनमा सोरु गाउँपालिकामा अध्यक्षसहित तीनवटा वडामा कांग्रेसले जितेको थियो भने उपाध्यक्ष सहित ६ वटा वडाअध्यक्ष एमाले र दुईवटा वडाअध्यक्ष माओबादी केन्द्रले जितेको थियो । मतभारलाई हेर्ने हो भने पनि सोरु गाउँपालिकामा कांग्रेस पहिलो समाजबादी दोश्रो र माओबादी तेश्रो स्थानमा देखिएको छ ।
पालिका कसरी आफ्नो हातमा पार्ने भन्ने तीन शाहीको दाउ
सोरु गाउँपालिकाबाटै तीन दलीय गठबन्धन जुटाउन गाह्रो भएपछि नगर सहित अरु दुई स्थानीयतह ओझेलमा परेका छन । कांग्रेस, समाजबादी माओबादी अहिले सोरु गाउँपालिकामै केन्द्रीत छ । किनभने कांग्रेस सभापति ऐनबहादुर शाही, समाजबादीका अध्यक्ष धर्मबहादुर शाही र माओबादी केन्द्रका जिल्ला संयोजक मंगलबहादुर शाहीको जन्मथलो सोरु गाउँपालिकामै भएको हुँदा अहिलेको स्थानीय निर्बाचनमा कसरी पालिका आफनो हातमा पार्ने भन्ने दाउमा देखिएका छन् ।
सोरुमा सहमति नजुटेपछि अन्य पालिका पनि अन्यौलमा
सत्तागठबन्धनमा सोरु गाउँपालिका बाधक देखापरेपछि छायाँनाथ रारा नगरपालिका खत्याड र मुगुम कार्मारोङ गाउँपालिकाको पद बाँडफाँडमा तीन दलको छलफल नै सुरु हुन सकेको छैन ।
अघिल्लो स्थानीय निर्बाचनमा नगरको मेयर पद कांग्रेस र उपमेयर पद एमालेले जितेको थियो भने खत्याड गाउँपालिकामा अध्यक्ष सहित उपाध्यक्ष एमालेले जितेको थियो । मुगुम कार्मारोङमा अध्यक्ष कांग्रेस र उपाध्यक्ष एमालेले जितेको थियो ।
‘गठबन्धन टुटाउनु हुदैन भन्ने पक्षमा हामी छौ’ माओबादी केन्द्रका जिल्ला संयोजक मंगलबहादुर शाहीले भने,‘कांग्रेस र समाजबादीको अडानले संकेत राम्रो देखिएन ।’ सहमति जुट्न नसके तीन दललाई नै घाटा हुने उनको भनाई छ ।
गठबन्धनका कारण स्थानीय कार्यकर्ता अलमलमा
सत्तागठबन्धनले गर्दा कांग्रेस, माओवादी केन्द्र र समाजवादी पार्टीका कार्यकर्ताहरु अलमलमा परेका छन् । गठबन्धन हुँदा कुन पद कुन पार्टीलाई भाग पर्ने हो भनेर तीन दलका कार्यकर्ताहरु रुमलिएका छन ।
‘सत्तागठबन्धन बिपरित कांग्रेस छैन,’ सभापति ऐनबहादुर शाहीले भने, ‘अब सोरु गाउँपालिकाबाटै गठबन्धन अप्ठेरोमा परेको स्थिति देखियो । अझै समय छ बिग्रिएको छैन तीन दलको छलफल जारी छ ।’ गठबन्धनमा तालमेल गरेरै जाने विश्वास शाहीले लिएका छन् ।
वि.सं.२०७९ वैशाख ५ सोमवार १७:३७ मा प्रकाशित






























