back
CTIZAN AD

दुस्मनले जसरी उठिबास लगायो पहिरोले श्रीपाली परिवारलाई

वि.सं.२०७९ वैशाख ८ बिहीवार

723 

shares

बेनी । रामसती श्रीपाली उमेरले ४८ वर्ष काटिन । धवलागिरि गाउँपालिका–६ मराङको नामरुकमा बस्दै आएकी श्रीपालीको परिवारको आर्थिक अवस्था कमजोर भएपनि सन्तोष नै मानेर खुसीका साथ बसेका थिए । तर परिवारको त्यो खुसी २०७७ साल असार २५ गते रातिको पहिराले खोसिदियो ।

मध्यरातमा भीषण वर्षासँगै आएको पहिराले श्रीपालीको जेठा छोरा र जेठी छोरीसहित परिवारका आठ जनाको मृत्यु भयो । जेठा छोरा मिलन, बुहारी कमलासहित उनीहरुका एक÷एक छोराछोरी सुरज र सुरक्षा पनि पहिरामा गुमे । उता सोही रातिकै पहिरामा परेर मराङको राम्चेमा बस्दै आएकी जेठी छोरी सुपना लामगाडेसहित उनका दुई छोरा आशिष, आयुस र छोरी आयुसाको मृत्यु भयो । ‘‘के भयो भयो, दुस्मनले जसरी पहिराले मेरो परिवारमा उठिबास लगायो, जेठा छोराको वंश नै सकियो, जेठी छोरी पनि आफ्ना छोराछोरीसहित पहिरामा पुरिइन, यस्तो विपत्तिको चोट अरुलाई नपरोस’’, उनले भनिन ।

पहिरा गएको रातको त्यो काहालीलाग्दो क्षण सुनाउन खोज्दा रामसतीका आँखा आँशुले भरिएका थिए । मनमा कहिल्यै नमेटिने चोट दिएको त्यो क्षण सुन्नेका लागि कहानी जस्तो लागे पनि उनका परिवारका लागि भने वास्तविक घटना हो, भोगाइ हो । त्यो रातको पहिराले मराङको विभिन्न स्थानमा १९ जनाको मृत्यु, दुई बेपत्ता, मालिका गाउँपालिका–१ बिममा आठको मृत्यु एक बेपत्ता र दुखुमा एक जना बेपत्ता भएका थिए । पहिराले गाउँ क्षतविक्षत् बनाएको थियो नै, त्यसैमा श्रीपाली परिवारलाई पनि थिलोथिलो बनाएर छाड्यो ।

पहिराले करिब दुई वर्षअघि सन्तानसँगै खोसिएको श्रीपाली परिवारको खुसी त अब फर्किंदैन नै, तर दैनिकीलाई पुरानै लयमा फर्काउन समेत कठिन छ । पहिराले उठिवास लगाएको परिवारलाई सम्हाल्न श्रीपालीलाई मुस्किल परेको छ । आफन्त गुमाएको पीडा त छँदै छ, त्यसैमा पनि परिवार चलाउने आय–आर्जनको आधार नभएकाले यो परिवार आर्थिक सङ्कटको भुमरिमा छ । सन्तान गुमाएको पीडाबाट सम्हालिएर अघि बढ्नुपर्ने अवस्थाको सामाना गरिरहेकी श्रीपालीले पाँच वर्षअघि नै श्रीमान् गुमाइसकेकी थिइन् ।

सिकर्मीको काम गरेर घरपरिवारको पालनपोषण गदै आएका घरमुली नरबहादुर श्रीपाली बिरामी भएपछि उपचारको क्रममा मृत्यु भएको थियो । ‘‘टाइफाईड भएर बेनी हुँदै मनिपाल पु¥यायौ, रोगले चापेको रहेछ, आइसीयू कक्षमै करिब एक महिना भर्ना गरेर उपचार पनि ग¥यौँ, रु साढे ४ लाखभन्दा बढी सकियो, तर उनलाई बचाउन सकिएन’’, रामसतीले भनिन ।

ऋण नै खोजेर उपचार गरेपनि घरमुली नरबहादुरको मृत्यु भएपछि जेठा छोरा मिलन कतार गए । विदेशबाट फर्किएपछि फेरि विदेश नै जाने योजनामा थिए उनी । विदेश गएर घरपरिवारको व्यवहार मिलाउने उनको सपना उनीसँगै पहिराले बगायो । रामसतीले अहिले गाउँमा अर्काको घर र सानो बारी किनेर परिवारको बसोबासको प्रबन्ध गरेकी छिन् । सकारले दिएको राहत रकममा थपथाप पारेर ओत लाग्ने ठाउँ बनाए पनि परिवारको दैनिकीलाई सहज बनाउन नसकिएको उनको भनाइ छ । उनले परिवारलाई स्थानीय सरकारको समन्वयमा म्याग्दी प्रवासी नेपाली सङ्घ(मोना)ले पहिरा पीडितको लागि बनाएको एकीकृत बस्तीमा सानो घर पनि उपलब्ध गराइएको छ ।

जीवनमा विरलै कसैले व्यहोर्ने वियोगको सामना गरेकी उनले अहिले स्कुले उमेरका ११ वर्षीय कान्छा छोरा सफल र नौ वर्षीया कान्छी छोरी शिखाको पढाइ खर्च जुटाउनसमेत निकै सङ्घर्षको भूमरीमा परेकी छिन । स्थानीय राम्चे आधारभूत विद्यालयमा सफल कक्षा ४ र शिखाले कक्षा ३ मा पढ्छन् । पहिराले उनीहरुको आफन्त खोसेर लग्यो भने उनीहरुमा मनोवैज्ञानिक रुपमा त्रास र भयको छापसमेत छाडेको छ ।

पहिरामै परेर घाइते भएका सफललाई पोखराको मणिपाल अस्पतालमा पु¥याएर उपचार गरी बचाइएको थियो । ‘‘एक्कासि घर बगायो, मैले त आकास नै खसे जस्तो देखेँ, पछि पहिराले बगाएपछि केही थाहा पाइन, हात, कम्मर र टाउकोमा लागेको चोटको उपचारपछि निको भयो, आजभोलि पनि त्यो दिन सम्झँदा डर लाग्छ’’, सफलले पहिरा जाँदाको रातको घटना सुनायो ।

माइली छोरीको विवाह भइसकेको छ । साइला छोरा दीपक र माइला खगिनले मजदूरी गरी घरखर्च जुटाउँदै आएको रामसतीले बताइन् । ‘‘स्कुल पढ्ने उमेरका छोराछोरीको पालनपोषण गर्न निकै कठिन भएको छ, अझ माथिल्लो कक्षामा पुगे भने कसरी पढाउने होला, अरु छोराछोरीले आर्थिक अवस्था कमजोर भएर पढ्न पाएनन्, यी दुई छोराछोरीलाई कम्तीमा पढाउन पाए हुन्थ्यो’’, लामो सास फेर्दै उनले सुनाइन । विपद्ले निम्त्याएको वियोग, सङ्कट र समस्याको भूमरीमा हिम्मतका साथ अगाडि बढे पनि रामसतीको परिवारको दैनिकी लयमा फर्किनसकेको छैन् । रामसती आफै पनि स्वस्थ छैनन् ।

पटक–पटक बिरामी भइरहने भएकाले मजदुरी गर्न नसक्दा साहिलो र माहिलो छोराको भरथेकमा परिवारको खर्च जोहो गर्नुपर्ने बाध्यता छ । ‘‘छोराछोरी साना छन, मेरो स्वास्थ्य बिग्रिएको कुरा सुनाउन पनि त सक्दिन, अखिर के रहेछ र जिन्दगी ? मान्छे भएर जन्मेपछि दिन घचट्ने, काल पर्खिनु त रहेछ नी ?’’, उनले मनभित्रका पीडा सुनाइन् । यता घरमा यस्तो विपत्ति आइपर्दा रामसतीका जेठी छोरीका श्रीमान् ओमप्रसाद लामगाडे वैदेशिक रोजगारको क्रममा साउदीमा थिए । घरमा श्रीमतीसहित छोराछोरी र ससुरालीमा समेत जेठा दाइको परिवार नै पहिराले पुरिएको खवर सुनेपछि विछिप्त भएका ओमप्रसाद गाउँ फर्किएर विगतको अकल्पनीय पीडा भुल्न खोजेपनि परिस्थिति सजिलो बनिदिएको छैन् ।

बाढीपहिरा पीडितका लागि बनाइएको एकीकृत बस्तीमा दुई कोठा भएको साघुँरो घरमा परिवारका आठ जनाको बसोबास सहज नभएको उृनकोे भनाइ छ । ‘‘बस्ने घर र कमाएर खाने बारी पनि बाँकी राखेन, यहाँ साँघुरो घरमा सधैँभरी यसरी नै बसेर जीविका चलाउने अवस्था पक्कै सम्भव छैन, यहाँ आय–आर्जनका लागि रोजगार पनि छैन, केही समयपछि फेरि विदेशतिर नै जाने होला’’, उनले भने ।

मराङमा पहिराले पूर्ण रुपमा क्षति भएका १० परिवारलाई म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) र १० घर सरकारी तवरबाट एकीकृत बस्तीको रुपमा निर्माण गरी पीडितलाई उपलब्ध गराइएको धवलागिरि गाउँपालिका–६ मराङका वडाध्यक्ष राजाराम उपाध्यायले जानकारी दिए । उनका अनुसार, तीन घरले आफै घर पुनःनिर्माण गरी बसेका छन् ।

पहिरापछि लामो समय त पालमुनी नै बसेका पीडित घर बनेर सुरक्षित आवासमा बस्न थालेपछि खुसी भएका छन् । सरकार र मोनाको पहलमा घर बनेपछि तत्कालको लागि पीडितलाई राहतको महसुस भएको राम्चे आधारभूत विद्यालयकी शिक्षकसमेत रहेकी सविना विकले बताइन् ।

 

वि.सं.२०७९ वैशाख ८ बिहीवार १५:४४ मा प्रकाशित

पर्यटकीय बसाइ लम्बाउन घोडेपानी–पुनहिलमा पूर्वाधार विस्तार

पर्यटकीय बसाइ लम्बाउन घोडेपानी–पुनहिलमा पूर्वाधार विस्तार

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको प्रमुख पर्यटकीयस्थल घोडेपानी–पुनहिलमा...

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

तानसेन (पाल्पा) । एक दशकअघिसम्म पाल्पाका फाँटहरूमा असार लागेसँगै हल...

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

नारायणगढ,चितवन। विगत १५ वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएका चितवनको रत्ननगर...

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

काँक्रेविहार (सुर्खेत)  । कर्णाली प्रदेशका १० जिल्लामा ४३ हजार २९०...

भाइद्वारा दाजुको हत्या

भाइद्वारा दाजुको हत्या

नेपालगञ्ज । बाँके प्रहरीले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको...

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

काठमाडौँ ।  राष्ट्रिय धान दिवस । देशभर किसान र विभिन्न...