काठमाडौं । शिखर इन्स्योरेन्सले हकप्रदमा अवितरित शेयर लिलाम गर्ने भएको छ । इन्स्योरेन्स कम्पनीले बैशाख १९ गतेदेखि हकप्रदमा अवितरित शेयर ७७ हजार ७ सय २० दशमलव ८८ कित्ता शेयर लिलाम गर्ने भएको हो ।
इन्स्योरेन्स कम्पनीले बैशाख १९ गतेदेखि २६ गतेसम्म शेयर लिलाम गर्न लागेको हो । उक्त सबै सर्वसाधारण समुहका शेयर हुन् । सो शेयर लिलाम प्रक्रियाका लागि एनआईबिएल एस क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । लिलामीको शेयरका लागि एनआईबिएल एस क्यापिटल लिमिटेड लाजिम्पाटका शाखाहरु पुतलीसडक काठमाडौं, लगनखेल ललितपुर, चिप्लेढुङ्गा पोखरा, ट्राफिकचोक बुटवल, आदर्शनगर वीरगञ्ज र गोल्छाचोक विराटनगर र नेपाल इन्भेष्मेन्ट बैंकका शाखाहरु नारायणगढ, हेटौंडा, जनकपुर, बिर्तामोड, तुल्सीपुर दाङ, सुर्खेत, नेपालगन्ज र धनगढीबाट आवेदन दिन सकिने जनाइएको छ ।
शेयरका लागि आवेदन दिँदा न्युनतम १०० कित्ता र अधिकतम पुरै कित्ताका लागि आवेदन दिन सकिने छ । इन्स्योरेन्स कम्पनीले यी शेयरको न्युनतम मूल्य १०० रुपैयाँ कायम गरेकाले सो भन्दा बढी मूल्य कबुल गरी आवेदन दिनु पर्ने जनाएको छ । इन्स्योरेन्स कम्पनीले सबै भन्दा बढी मूल्य कबुल गर्ने आवेदकले शेयर पाउने जनाएको छ । त्यसैगरी शेयर बाँकी रहेको खण्डमा दोस्रो बढी मूल्य कबुल गर्नेले आवेदकले शेयर प्राप्त गर्ने कम्पनीले जनाएको छ । यसरी शेयर बाँकी रहेसम्म बाँडफाँड हुने छ ।
इन्स्योरेन्स कम्पनीले चैत्र १ गतेदेखि चैत्र २१ गतेसम्म १०ः३ को अनुपातमा ३० प्रतिशतले हुन आउने ५२ करोड ७५ लाख ५७ हजार २ सय रुपैयाँ बराबरको ५२ लाख ७५ हजार ५ सय ७२ कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो । कम्पनीले हकप्रद निष्काशन प्रयोजनको लागि माघ २१ गते बुक क्लोज गर्ने निर्णय गरेको थियो । यस हिसाबमा माघ २० गते कायम शेयरधनीले मात्र हकप्रद शेयरमा आवेदन दिन सक्ने ब्यबस्था थियो ।
कम्पनीले जेठ २५ गते हकप्रद शेयर निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएकोमा बोर्डले माघ ६ गते स्वीकृति प्रदान गरेको हो ।
वि.सं.२०७९ वैशाख ११ आइतवार १६:१० मा प्रकाशित




























