
काठमाडौं । पर्वतको पैयूँ गाउँपालिकामा नेकपा (एमाले)को तर्फबाट उपाध्यक्ष पदकी उम्मेदवार यामकुमारी राना मंगलबार राति पैसासहित पक्राउ परिन । उनलाई स्थानीयले पैयूँ वडा नं. ४ स्थित एक दलित बस्तीबाट पैसासहित पक्राउ गरि प्रहरीलाई बुझाएका थिए । बताइएअनुसार नमुना मतपत्रसहित रानासँग ५४ हजार रुपैयाँ बरामत भएको छ । तर, उनी सर्वपक्षीय छलफल पछि बुधबार बिहान नै प्रहरीबाट छुटेकी छिन् ।
राना छुटेसँगै एमालेले भने विज्ञप्ति नै सार्वजनिक गरेर आफ्नो उम्मेदवारलाई फसाउन खोजिएको आरोप लगाएको छ । एमालेले आफ्नो उम्मेदवार पैसा बाँड्न नहिँडेको दाबी गरेको छ । तर, पर्वतमा एमालेको उम्मेदवार पैसासहित पक्राउ परेको विषयले भने निकै चर्चा पाएको छ ।
यता, पर्वतमा जस्तै सिरहामा पनि मौन अवधिमा माओवादीका एक स्थानीय नेता प्रेम लामा पैसासहित पक्राउ परेका छन् । सिरहा प्रहरीले जनाएअनुसार उनीबाट केही मतपत्रका नमूनासहित ५४ हजार रुपैयाँ बरामत भएको छ । प्रहरीले बताएअनुसार उनी गोलबजार नगरपालिकाको गुरुधाममा नमुना मतपत्रसहित प्रति परिवार दुईदेखि पाँच हजारसम्म पैसा बाँड्दै हिँडेका थिए ।
यस्तै, बुटवल उपमहानगरमा एमालेको तर्फबाट मेयरका उम्मेदवार बाबुराम भट्टराईकी श्रीमति सिर्जना भुसाल पक्राउ परेकी छिन् । मौन अवधिमा सुकुम्बासी बस्ती छिरेकी भुसाललाई स्थानीयले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका छन् । बुधबार दिउँसो पक्राउ परेकी भुसालबाट के–कति पैसा बरामत भयो भन्नेबारे भने प्रहरीले जानकारी दिएको छैन् । तर, स्थानीयले भने सुकुम्बासी बस्तीमा पैसा बाँड्न आएको बताएका छन् ।
उल्लेखित देखिएका घटनाबाहेक देशैभरि मतदाता प्रभावित पार्ने गतिविधि मौन अवधिमा धेरै देखिएका छन् । मकवानपुरमा मतदाता फकाउन पाइप बाँड्न हिँडेका कांग्रेसको उम्मेदवारको समूहलाई प्रहरीले पक्राउ परेको छ । प्रहरीले जनाएअनुसार पूर्वी मकवानपुरको बकैया गाउँपालिकाको विकट एक गाउँका स्थानीयलाई फकाउन कांग्रेसको उम्मेदवारले ३ क्वाईल खानेपानीको बाइप लिएर पुगेका थिए । यस्तै, कपिलवस्तुको बर्दगहवामा पनि प्रहरीले मतदातालाई रक्सी बाँड्दै हिँडेको अवस्थामा उम्मेदवारको सहयोगी समूहलाई पक्राउ गरेको छ ।
मतदातालाई लोभ्याउने मात्रै यस अवधिमा तर्साउने र धम्क्याउने काम पनि भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार यस अवधिमा देशभर दर्जनौं ठाउँमा कुटपिट र झडपका घटना भएका छन् ।
सम्बन्धित समाचार
पैयूँमा एमाले उम्मेदवार पैसासहित समातिएपछि दलहरुबीच आरोप प्रत्यारोप