
काठमाडौं । भरतपुर महानगरपालिकाको मत गणना करिब अन्तिम चरणमा पुगेको छ । अब मात्रै १७ हजार ३८५ मत गन्न बाँकी छ ।
१७ हजार मत गन्न बाँकी रहँदा भरतपुरमा मेयर पदकी उम्मेदवार माओवादी नेतृ रेनु दाहालले ४४ हजार ३०५ मत पाएकी छिन् । उनले पाएको मत निकटतम प्रतिद्धन्द्धी एमाले उम्मेदवार विजय सुवेदीले पाएको मतभन्दा १० हजार बढी हो । दाहाल र सुवेदीबीच १० हजार १२६ को मतान्तर छ । मतगणना भइरहेका र सम्पन्न भएका धेरै वडामा दाहालको अग्रता देखिन्छ ।
यता मेयर पदका अर्का उम्मेदवार जगन्नाथ पौडेलले १३ हजार ५१५ मत ल्याएका छन् । उनी कांग्रेसका बागी उम्मेदवार हुन् ।
यता, धेरै मत आइसकेका कारण गणना नसकिए पनि उपमेयरमा चित्रसेन अधिकारीको जित पक्का भएको छ । अधिकारीले ४५ हजार ४६८ मत ल्याउँदा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की उम्मेदवार हिमला गुरुङले २७ हजार ४६ मत ल्याएकी छन् । भरतपुरमा मेयरमा एमाले र उपमेयरमा राप्रपाबीच चुनावी तालमेल भएको छ ।
कुल २९ वटा वडा रहेको भरतपुर महानगरपालिकामा एक लाख ८५ हजार मतदाता रहे पनि एक लाख २७ हजार ८३९ जनाले मतदान गरेको चितवन जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
हाल भरतपुरमा २४ नम्बर वडासम्मको मत गणना पुरा भएको छ । २५ र २६ नम्बर वडाहरुको मत गणना जारी छ । हालसम्म एक लाख १० हजार ४५४ मत गनेर सकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।