काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टीको आन्तरिक सुदृढीकरण तथा समसामयिक राजनीतिक विषयमा छलफल गर्न आयोजना गर्न लागेको राष्ट्रिय भेलाको तयारी तीव्र पारेको छ।
समितिका संयोजक प्रा. डा शशांक कोइरालाद्वारा हस्ताक्षरित पत्रमा पार्टीको सम्पूर्ण एकता कायम गर्दै भावी कार्यदिशा तय गर्न राष्ट्रिय भेला आयोजना गर्न लागिएको उल्लेख छ। पत्रमा भनिएको छ, “सवल, सक्षम र सुदृढ कांग्रेसले नै यी सबै चुनौतीको सामना गर्न सक्ने हाम्रो विगतका अनुभव रहेकोले पार्टीको सम्पूर्ण एकता र भावी कार्यदिशा तय गर्न” राष्ट्रिय भेला आयोजना गरिएको हो।
नेपाली कांग्रेस राष्ट्रिय भेला आयोजक समितिले २०८३ साउन २२ गते प्रदेश कार्यसमितिहरूलाई पत्र पठाउँदै साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्न लागिएको जानकारी दिएको हो।
भेलामा सातै प्रदेशका सभापति, ७७ वटै जिल्ला सभापति तथा १६५ वटै प्रतिनिधि सभा निर्वाचन क्षेत्रका सभापतिलाई सहभागी हुन पत्राचार गरिएको छ। त्यस्तै प्रदेश तथा जिल्लाबाट विभिन्न तहका नेता तथा प्रतिनिधिहरूलाई सहभागी गराउन प्रदेश कार्यसमितिहरूलाई आग्रह गरिएको छ।
आयोजक समितिले क्षेत्रीय सभापति, महाधिवेशन प्रतिनिधि, पूर्व केन्द्रीय पदाधिकारी तथा सदस्य, पूर्वमन्त्री तथा सांसद, प्रदेश सभा क्षेत्रीय सभापति तथा महानगर, नगरपालिका र गाउँपालिका कार्यसमितिका सभापतिहरूलाई भेलामा सहभागी गराउन अनुरोध गरेको छ।
भेला प्रचार–प्रसार उपसमितिका संयोजक मीन विश्वकर्माका अनुसार पार्टीको तल्लो तहदेखि माथिल्लो तहसम्मका नेता तथा कार्यकर्ताका सुझाव संकलन गर्ने उद्देश्यले भेला आयोजना गर्न लागिएको हो। सम्बन्धित नेताहरूलाई स्वयं सहभागी हुन तथा आ–आफ्नो क्षेत्रका वर्तमान र पूर्व पार्टी नेतृत्वलाई समेत भेलामा सहभागी गराउन आग्रह गरिएको छ ।
निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइरालासँग जोडिएका नेताहरूको पहलमा हुन लागेको भेलामा महाधिवेशन प्रतिनिधि, पूर्व केन्द्रीय पदाधिकारी तथा सदस्य, पूर्वमन्त्री, सांसद, प्रदेश तथा स्थानीय तहका पार्टी पदाधिकारीलाई समेत सहभागी गराउने तयारी गरिएको छ।
त्यस्तै, महानगरपालिका, नगरपालिका तथा गाउँपालिका तहका पार्टी सभापतिहरूलाई पनि भेलामा सहभागी गराउन सम्बन्धित नेतृत्वमार्फत आवश्यक वातावरण बनाउन आग्रह गरिएको छ।
भेलामा कांग्रेसभित्र देखिएको आन्तरिक अवस्था, संगठन सुदृढीकरण, पार्टी एकता, नेतृत्वबीचको समन्वय तथा आगामी राजनीतिक रणनीति लगायतका विषयमा व्यापक छलफल हुने बताइएको छ।
विशेषगरी तल्लो तहका पार्टी संरचनाको अवस्था, कार्यकर्ताको भावना, संगठन सञ्चालनमा देखिएका समस्या तथा आगामी दिनमा पार्टीलाई थप सुदृढ र प्रभावकारी बनाउने उपायबारे सहभागीहरूबाट सुझाव लिने तयारी छ।
संस्थापन इतर समूहले आयोजना गर्न लागेको यो भेलालाई कांग्रेसभित्र पछिल्लो समय देखिएका मतभेद र असन्तुष्टिबारे छलफल गर्ने तथा आगामी राजनीतिक दिशाबारे साझा धारणा निर्माण गर्ने महत्वपूर्ण मञ्चका रूपमा हेरिएको छ।
वि.सं.२०८३ साउन २६ मंगलवार ०९:०७ मा प्रकाशित






























