
काठमाडौं । नेपालका नदीहरुमा प्लाष्टिक प्रदूषण रोक्न पूर्ण सहयोग गर्ने वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादवले बताएका छन् । क्रिएशन नेपाल, ग्रिड एरेन्डेल, डोको रिसायक्लर्स, इन्टरनेशनल सोलिड वेस्ट एसोसिएसन (इस्वा) र नर्वेजियन जियोटेक्निकल इन्स्टिच्युट (एनजीआई)ले संयुक्त रुपमा काठमाडौंमा सोमबार आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री यादवले यस्तो बताएका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले वागमती नदी पूजा गर्ने ठाउँ भए पनि प्रदूषणका कारण नदीको मुल्य घटेको बताए । उनले भने, ‘हामीले पूजा गर्ने ठाउँ वाग्मती खोला सांस्कृतिक ठाउँ हो तर प्लास्टिक प्रदूषणका कारण नदीको मुल्य घटेको छ ।’ मन्त्री यादवले प्लास्टिक प्रदूषणका समस्या समाधान गर्नका लागि नीतिहरूको कडा कार्यान्वयन हुन आवश्यक रहेकोे बताए । उनले फोहोर संकलन प्रक्रियाका बारेमा आधारभूत तहका मानिसहरुलाई जानकारी दिनु पर्ने समेत बताए ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नेपालका लागि नर्वेजियन राजदूत तोरुन द्रम्दलले काठमाडौं उपत्यका वरिपरिका नदी वा ल्यान्डफिल साइटहरू प्लाष्टिकको फोहोरको थुप्रोले भरिएको देखिएको बताएकी छन् । उनले भनेकी छन् , ‘आज हामीले काठमाडौं उपत्यका वरिपरि हेर्दा नदी वा ल्यान्डफिल साइटहरू फोहोरको थुप्रोले भरिएका देख्छौँ, जुन मुख्यतया प्लाष्टिकको हुन्छ ।’
सो कार्यक्रममा बोल्दै क्रिएशनका संस्थापक तथा अध्यक्ष आनन्द मिश्रले प्लास्टिक पुनरावृत्ति गर्न र नेपालका नदीहरूमा प्लाष्टिकको रोकथामका लागि अत्याधुनिक प्रविधिको प्रयोग ल्याउनु पर्ने बताए । उनले स्वच्छ, स्वस्थ र दिगो वातावरण राख्नका साथै मानिसहरूलाई प्रोत्साहित गर्न व्यवहार परिवर्तन लागू गरिनु पर्ने समेत बताए ।