काठमाडौं । सरकारले ग्याँसको विकल्प विद्युतीय चुलो बनाउने भएको छ । आइतबार आगामी वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले ग्यासको उपयोग प्रतिस्थापन गर्न विजुलीलाई प्राथमिकता दिइने बताए ।
उनले एलपी ग्यासमा दिइएको सहुलियत हटाउने संकेत गरेका छन् । हाल सरकारले एलपी ग्यासमा प्रतिसिलिण्डर ६५७ रुपैयाँ सहुलियत दिएको छ ।
सरकारले गत तीन वर्षदेखि क्रमशः यस्तो सहुलियत कटौती गरिने बजेटमार्फत व्यवस्था गर्दै आएको छ ।
‘एक घर, एक विद्युतीय चुलो’ कार्यक्रम घाेषणा
ग्यास प्रयोगलाई निरुत्साहित गर्न र विद्युत खपतलाई प्रोत्साहन गर्न सरकारले विद्युतीय चुलो निःशुल्क वितरण गर्ने भएको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै शर्माले स्थानीय तहमार्फत् ‘एक घर, एक विद्युतीय चुलो’ अनुदानमा वितरण गर्ने अभियान चलाइने बताए ।
ग्यास विस्थापितको कार्यक्रममा सिंहदरबारबाटै सुरु गर्ने अर्थमन्त्रीको घोषणा छ । सरकारले ‘एलपी ग्यास छोडौं, बिजुली जोडौं भन्ने नाराका साथ ग्यासको प्रयोग न्यूनीकरण गर्ने भएको छ ।
उनले धुवामुक्त भान्साअन्तर्गत सुधारिएको चुलो वितरण गर्ने कार्यक्रमलाई समेत निरन्तरता दिइने बताए ।
वि.सं.२०७९ जेठ १५ आइतवार १८:११ मा प्रकाशित






























