काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले नेपालीको औसत आयु नै थोरै भएकाले सामाजिक सुरक्षा भत्ता दिने उमेर कम बनाइएको बताएका छन् । बजेट छलफलमा उठेका प्रश्नको शुक्रबार प्रतिनिधिसभा बैठकमा जवाफ दिँदै अर्थमन्त्री शर्माले यस्तो बताएका हुन् ।
उनले १५ औं आवधिक योजनाले निकालेको निष्कर्षअनुसार नेपाली औसत आयु ६९.७ वर्ष रहेको उल्लेख गर्दै सामाजिक सुरक्षा भत्ता दिने उमेर कम गरिएको बताए ।
“विपन्न नागरिकहरूको सामाजिक सुरक्षा भत्ता दिने उमेर कम गरेको विषय छ, नेपालको १५ औं आवधिक योजनाले निकालेको निष्कर्ष नेपालको औसत आयु ६९.७ वर्ष रहेछ, यो योजना आयोगले १५ औं योजनामा निकालेको तथ्यांक हो, त्यो भएकाले एउटा तल्लो वर्ग रहेको छ, उसको आयु कम नै हुने गरेको छ”, शर्माले जवाफमा भनेका छन्, “त्यसलाई पनि सामाजिक सुरक्षामा ल्याउने उद्देश्यका साथ सामाजिक सुरक्षा भत्ता पाउने उमेर ६८ वर्ष बनाइएको हो ।”
यसअघि सरकारले ७० वर्षलाई वृद्ध मानेर वृद्धभत्ता दिँदै आएको थियो ।
एकअर्को प्रसंगमा बोल्दै अर्थमन्त्री शर्माले चुनावी सरकार भए पनि संविधानमा भएको व्यवस्थाअनुसार नै सरकारले पूरा अवधिका लागि बजेट ल्याएको स्पष्टीकरण दिएका छन् । उठेका प्रश्नको जवाफ दिँदै उनले भने, “मैले संविधानमा यति महिना (चुनावसम्म)को मात्र बजेट बनाउन मिल्ने व्यवस्था कतै देखिनँ । पाँच महिनाका लागि बजेट बनाउने व्यवस्था संविधानमा रहेनछ । पाँच महिनाको लेखेको भए, त्यसै गर्न हुन्थ्यो, तर त्यो संवैधानिक व्यवस्था भेटिएन ।”
वि.सं.२०७९ जेठ २० शुक्रवार १७:५५ मा प्रकाशित






























