काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले नेपाली कांग्रेसका कारण आफ्नो पार्टीले पराजय भोग्नु परेको बताएका छन् । आइतबार काठमाडौंमा मुस्लिम इत्तेहाद संगठन नेपालको बैठकमा बोल्दै अध्यक्ष नेपालले कांग्रेसले सहयोग नगर्दा नै पराजय भोग्नु परेको बताए ।
“हाम्रा साथीहरु राम्रै आशावादी भएर लाग्नुभएको थियो, तर कांग्रेसले राम्रो ढंगले भोट नखसालेको कारण हामीले जित्न सकेनौं”, उनले भनेका छन्, “हामी जित्न सकेको भए कांग्रेसलाई पनि फाइदै हुन्थ्यो, यो कुरालाई कांग्रेसहरुले पनि महसुस गरेनन् ।”
उनले माओवादीबाट पनि अपेक्षित सहयोग नभएको बताए । सहयोग हुन सकेको भए समाजवादी मात्रै नभइ सबैलाई फाइदा हुने स्थिति आउने उनले बताए ।
चुनावी नतिजामा एकीकृत समाजवादी जस्तै जनता समाजवादीले पनि गठबन्धनप्रति असन्तुष्टी पोख्दै आएको छ । मुख्यगरी दुई दलभित्र देखिएको असन्तुष्टीले गठबन्धनकै भविष्यमाथि पनि प्रश्न उब्जिएको देखिन्छ ।
वि.सं.२०७९ जेठ २२ आइतवार १६:११ मा प्रकाशित






























