काठमाडौं । नेकपा एमालेकी सांसद गंगा चौधरीले यौन हिंसाविरुद्धको विधेयकमा उजुरीको हदम्याद राख्नुपर्ने बताएकी छिन् । सोमबार प्रतिनिधि सभामा यौन हिंसाविरुद्धको केही ऐनलाई संशोधन गर्ने विधेयक २०७९ माथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उनले हद म्याद नराख्दा मुद्दाको चाङ लाग्ने र पीडितले न्याय नपाउने बताइन् ।
पूर्वसभामुख कृष्णबहादुर महरा र अभिनेता पल शाहको मुद्दालाई उदाहरण दिँदै उनले स्वार्थ नमिल्दाको घटना भएको बताइन् । “पल साह र समीक्षा अधिकारीको कुरा, जबसम्म मन मिल्यो त्यतिबेलासम्म लबको संज्ञा दिने, त्यसपछि आफ्नो स्वार्थ भएन त्यसलाई बलात्कारको संज्ञा दिने”, चौधरीले भनेकी छिन्, “यसभन्दा पहिले पनि हामी सम्मानित सदनमा बसेका पूर्वसभामुखको घटना पनि हेरेका छौं, जबसम्म स्वार्थ मिल्यो तबसम्म कसैलाई पत्तो भएन, तर स्वार्थ नमिल्दा बलात्कारको संज्ञा दिएर उहाँलाई ६/६ महिना जेलमा कोचियो ।”
उनले पुरुष पनि उत्तिकै पीडामा भएको बताइन् । “मलाई महिला हो महिलाको विरुद्धमा बोल्यो भनेर नभन्नुस् । म एउटा सांसद पनि हो, देशको लागि कानुन निर्माण गर्न आएका छौं । यो हेक्काको साथ यो भनिराखिरहेकी छु”, “विदेशमा भएका पुरुषको पीडा कसले बुझ्ने ? यतातिर पनि ध्यान दिनुपर्छ । कानुन संशोधन गर्नुपर्छ । महिला मात्रै होइन पुरुष पनि पीडामा भएको कुरा हामीले भुल्नु हुँदैन ।”
उनले महिला अधिकारको लागि राष्ट्रिय महिला आयोग भएको बताउँदै पुरुषको लागि पनि बेग्लै व्यवस्था गर्नुपर्ने बताइन् । उनले भनेकी छिन्, “महिलाको लागि राष्ट्रिय महिला आयोग छ, पुरुषको लागि बोल्ने ठाउँ छैन, त्यसको व्यवस्था हुन जरुरी छ ।”
सांसद चौधरीले विवाहको उमेर हद २० वर्ष बनाउने कुरा नै गलत भएको बताएकी छिन् । “२० वर्ष उमेरहद राख्ने कुरा गलत छ । १३ वर्षमै बच्चा जन्माएका घटना छन् । हामीले त्यतातिर पनि ध्यान दिनुपर्छ”, उनले भनेकी छिन् ।
वि.सं.२०७९ जेठ २३ सोमवार १४:२१ मा प्रकाशित






























