काठमाण्डौं । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनीमा सडक भाँसिदा दुईतर्फी सवारी आवागमन बन्द भएको छ ।
बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण आँबुखैरेनी गाउँपालिका–४ साँखरस्थित ड्यामनजिक झण्डै करिब २० मिटर सडक भाँसिएपछि सवारी आवागमन बन्द भएको हो ।
सडकको भाग तलबाट भाँसिएकाले बेलिब्रिज नराखेसम्म सवारी आवत–जावत हुन नसक्ने देखिएको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताएका छन् । खड्काका अनुसार सडक तत्काल बन्न नसक्ने देखिएपछि सवारीसाधनहरुलाई जताबाट आएको उतै फर्काइएको छ । ‘कुनैपनि बैकल्पिक बाटो छैन । त्यसैले सवारी जताबाट आएको हो उतै फर्काएका छौं ।’खड्काले भने ।
खड्काले पोखरातिरबाट आएको एउटा गाडी पनि मस्र्याङ्दी नदिमा खसेको र एकजनाको शब माथिबाट देखिएको बताएका छन् । ‘सडक पुरै तल खसेको छ । नदीमा गाडीको केही भाग र एकजनाको शब देखिएको छ उद्धारको क्रम जारी रहेको छ ।’ खड्काले संसारन्युजसँग भने ।
फोटो सविन लामिछाने
वि.सं.२०७९ जेठ २७ शुक्रवार ०८:४१ मा प्रकाशित






























