
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा शालिक निर्माण हुने भएको छ ।
नेपाल पर्वतारोहण संघले उक्त शालिक निर्माण गर्न लागेको र उक्त शालिकको अनावरण माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गर्ने बताइएको छ ।
‘मेरो यसमा कुनै भूमिका छैन । गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री हुनुको नाताले आफ्नो छोरा एभरेष्ट चढेको हुनाले ककनीमा मूर्ति बनाइदिन पर्यो भनेर मैले कहिल्यै एकशब्द पनि भनेको छैन ।’ संघका तर्फबाट नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई तथा विदाइ कार्यक्रमका प्रमुख अतिथि रहेका अध्यक्ष प्रचण्डले भने, ‘मलाई थाहा पनि थिएन । तपाईहरुले पर्वतारोहण संघको तर्फबाट आफै निर्णय गर्नु भएछ । त्यसको अनावरणका लागि आजै मलाई पत्र दिनु भएको छ ।’
उनले संघलाई धन्यवाद दिँदै युद्धमा मेसिन गन बोकेर हिँडेको प्रकाश र शान्ति वार्तामा आएपछि लुम्बिनीदेखि सगरमाथा सम्म पुगेर सन्देश दिन्छु भन्ने जुनुन प्रकाशमा आफुले पनि देखेको बताएका थिए ।
‘गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्रीको छोरो भन्दा पनि प्रकाशको आफ्नै विवेकको परिणाम थियो त्यो । तपाईहरुले त्यसलाई सम्मान गरेर उचित गर्नु भएको छ ।’ अध्यक्ष प्रचण्डले भने ।
उनले त्यहाँ आफ्नो कुनै राजनैतिक वा कुनै किसीमको दवाव नभएको पनि पुन : प्रष्ट पारे ।