ललितपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले हरेक घरमा पुग्ने सडक कालोपत्र हुनेगरी विकास गर्न प्रतिबद्ध रहेको बताएकी छन् । ऊर्जामन्त्री भुसालले गोदावरी नगरपालिका–१२ ठेचोस्थित सर्वेश्वर बहुउद्देश्यीय हलको उद्घाटन तथा हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएकी हुन् ।
मन्त्री भुसालले ललितपुरका हरेक घरमा पुग्ने सडक कालोपत्र हुनेगरी विकास गर्न आफू प्रतिबद्ध रहेको उल्लेख गर्दै आगामी दिनमा जनताको चाहनाअनुसार विकासका गतिविधिलाई तीव्र गतिमा अगाडि बढाउने विश्वास दिलाइन् ।
मन्त्री भुसालले शिक्षा र स्वास्थ्यका क्षेत्रमा सरकारी निकाय नै सक्षम रहेको बताउँदै त्यस्ता निकायको सुविधाको उपयोग गर्न आम जनतालाई आग्रहसमेत गरिन् । उनले भनिन्, “जिल्ला अस्पतालले राम्रो सेवा दिन्छ, सबै प्रकारको उपचार हुन्छ, यहाँका जनतालाई महँगो निजी अस्पताल जानुपर्ने बाध्यता छैन ।”
त्यसैगरी, मन्त्री भुसालले स्थानीय सरकारी विद्यालयमा निजीकोभन्दा गुणस्तरीय शिक्षा उपलब्ध गराउन सकिने विश्वास व्यक्त गर्दै आगामी दिनमा सरकारी विद्यालयलाई जिम्मेवार बनाएर गुणस्तरीय शिक्षा उपलब्ध गराउनुपर्नेमा जोड दिइन् ।
वि.सं.२०७९ असार ११ शनिवार १५:४१ मा प्रकाशित






























