वाशिङटन । ताइवानलाई लिएर अमेरिका र चीनबीच तनाब बढिरहँदा दुवै देशका राष्ट्रपतिबीच वार्ता हुँदैछ । अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी चीनफिङबीच बिहीबार वार्ता हुँदैछ । चार महिनापछि दुवै देशका राष्ट्रपतिबीच कुराकानी हुन लागेको अमेरिकी अधिकारीहरूले बताएका छन् ।
आज हुने वार्ता हप्तौदेखिको योजनाबद्ध नियमित छलफल हो । पहिलेदेखि नै द्वन्द्वमा अल्झिएको चीन अमेरिका सम्बन्धमा सभामुख न्यान्सी पेलोसीको सम्भावित ताइवान भ्रमणले त्यसलाई अझ जटिल बनाएको बेला यो वार्ता हुन लागेको हो ।
बाइडेन र सीबीचको वार्तामा उत्तर कोरियाको आणविक कार्य, युक्रेनमा रूसको युद्धका विषयमा बेइजिङ र वाशिङटनबीचको मतभेद, इरान आणविक सम्झौतालाई पुनर्जीवन दिने प्रयास र ट्रम्प प्रशासनले चीनमा लगाएको कठोर करको अमेरिकी प्रशासनको समीक्षाको स्थितिलगायतका विषयमा पनि छलफल हुनसक्ने बताइएको छ ।
ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा प्रवक्ता जोन किर्बीले मङ्गलबार भने, “यस सम्बन्धमा हामीबीच यस्ता विषयहरू छन् जहाँ हामी सहयोग सम्भव छ भन्ने विश्वास गर्छौं । उदाहरणका लागि हामीलाई धेरै असर गर्ने जलवायु परिवर्तन साथै तनावका विषयहरू पनि छन् ।”
अमेरिकी धारण र चीनको प्रतिक्रिया–
यदि पेलोसीले चीनले दाबी गरेको स्वशासित ताइवान द्वीपमा भ्रमण गरेमा यसविरूद्ध ‘सशक्त कदम’ चाल्ने बेइजिङले बताएको छ ।
ब्लूमबर्गले सार्वजनिक गरेको भ्रमण कार्यक्रमबारे अमेरिकी अधिकारीले सार्वजनिक घोषणाअघि नै जानकारी गराउन अस्वीकार गरे ।
पेलोसीले ताइवान भ्रमण गर्ने योजनाको आफैँले पनि पुष्टि गरेकी छैनन् । तर, गतहप्ता अमेरिकी सैनिक अधिकारीहरूले सभामुख पेलोसीका लागि ताइवान भ्रमणका लागि उपयुक्त समय नभएकोे बताएका राष्ट्रपति बाइडेनले उल्लेख गरेका थिए ।
गतहप्ता फाइनान्सियल टाइम्सले पेलोसीले अगस्टमा ताइवान भ्रमण गर्ने योजना बनाएको रिपोर्ट गरेपछि बाइडेनको टिप्पणी आएको थियो । ताइवानको यात्रा उनले सुरुमा अप्रिलमा गर्ने योजना बनाएकी थिइन् तर कोभिड–१९ बाट सङ्क्रमित भएपछि उनले यसलाई स्थगित गरेकी बताइन्छ ।
आफ्नो यात्राबारे सुरक्षा प्रोटोकल उल्लेख गर्दै सभामुखले ताइवान जाने योजनाबारे तत्काल कुनै टिप्पणी गर्न इन्कार गरेकी छिन् । तर उनले बाइडेनको टिप्पणी सैन्य सुरक्षा दृष्टिले आएको बताइन् । सुरक्षा अधिकारीलाई ताइवानसँगको अमेरिकी सम्बन्धलाई जोड दिँदा यसको प्रभाव अमेरिकी विमानमाथि जोखिम बढ्नसक्ने भय रहेको उनले बताइन् ।
यदि पेलोसीको भ्रमण तालिका अघि बढेमा सन् १९९७ मा अमेरिकी सभामुखका हैसियतमा रिपब्लिकन न्युट गिंग्रिचले ताइवान भ्रमण गरेदेखि ताइवान भ्रमण गर्ने उनी उच्च पदस्थ अमेरिकी निर्वाचित अधिकारी हुनेछिन् ।
“ताइवानलाई समर्थन दिनु हाम्रो लागि महत्वपूर्ण छ,” पेलोसीले भनिन् । “ताइवानको सन्दर्भमा हामीमध्ये कसैले पनि हामी ताइवानको स्वतन्त्रताको लागि हौँ भनेका छैनौँ । यो निर्णय ताइवानकै हो ।” ताइवान जाँदा नाजुक अवस्था अझ जटिल हुनसक्छ भनी प्रशासन अधिकारीहरूले पेलोसीलाई गोप्य रूपमा जानकारी गराएका छन् ।
भ्रमणको क्रममा पेलोसीको सुरक्षाका लागि योजनाबद्ध सैन्य कदमबारे सोधिएको प्रश्नमा अमेरिकी सैनिक जनरल तथा जोइन्ट चीफ अफ स्टाफ प्रमुख जन मार्क मिलीले बुधबार कुनै पनि विशिष्ट यात्राबारे छलफल भ्रमणको घोषणा भएपछि मात्र हुने बताए । उनले भने, “यदि अध्यक्ष पेलोसी वा अरू कसैले यात्रा गर्ने निर्णय गरेको छ र उनीहरूले सैन्य समर्थन मागे भने, उनीहरूको भ्रमणको सुरक्षित आचरण सुनिश्चित गर्न हामी जे आवश्यक छ त्यही गर्नेछौँ ।”
चिनियाँ अधिकारीहरूले विभिन्न माध्यमबाट पठाएका सन्देशमा पेलोसीको भ्रमणलाई अमेरिकी नीतिमा भएको परिवर्तनको रूपमा हेर्ने र वातावरणलाई उत्तेजित पार्न खोजेको रूपमा बुझिने बताएका छन् ।
चीनको विदेश मन्त्रालयका प्रवक्ता वाङ वेन्बिनले भने, “यदि अमेरिकाले आफ्नो बाटो हिँड्न जोड दिन्छ भने चीनले दृढतापूर्वक प्रतिक्रिया दिन र त्यसको प्रतिरोध गर्न जोडदार कदम चाल्नेछ र हामी जे भन्छौँ त्यही गर्नेछौँ ।”
बेइजिङलाई चीनको सरकारको रूपमा मान्यता दिने ‘एक चीन’ नीतिप्रति अमेरिकाको लामो समयदेखिको प्रतिबद्धता रहे पनि ताइपेईसँगको अनौपचारिक सम्बन्ध र रक्षा सम्बन्धलाई पनि अमेरिका अगाडि बढाउन चाहन्छ ।
तर चीनले हालका वर्षहरूमा ताइवानविरुद्ध आफ्नो सैन्य उत्तेजना बढाएको र चिनियाँ समाजवादी भूगोलसँग एकीकरणका लागि बेइजिङको मागलाई स्वीकार गर्न ताइवानलाई दबाब दिने प्रयास गरिरहेको छ ।(रासस/एपी)
वि.सं.२०७९ साउन १२ बिहीवार ०७:३४ मा प्रकाशित




























