काठमाडौं । माओवादी केन्द्रभित्र पदाधिकारी चयनको विषय तत्काल टुंग्याउन नेताहरुले माग गरेका छन् । बिहीबार बसेको स्थायी समिति बैठकमा नेताहरुले स्थायी समिति, पोलिटब्यूरो र पदाधिकारीको विषय तत्काल टुंग्याउन माग गरेका थिए ।
बिहीबारको बैठकमा बोल्ने अधिकांश सदस्यहरुले पदाधिकारीको विषय टुंग्याउँदा नै सहज हुने कुरा राखेको नेता गिरीराजमणि पोखरेलले जानकारी दिए । उनका अनुसार बैठकमा संगठनात्मक संरचनाबारे निर्णय नलिँदा चुनावमा समेत असर गर्ने धेरैको बुझाई छ ।
गत असार १९ देखि २१ सम्म काठमाडौंमा बसेको माओवादीको तेस्रो केन्द्रीय समिति बैठकमै पोलिटब्यूरो, स्थायी समिति र पदाधिकारी टुंग्याउनुपर्ने माग उठेको थियो । तर, तत्कालिन समय पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनका लागि गृहकार्य आवश्यक भएको भन्दै मुलतः पदाधिकारीको विषय तत्काल टुंग्याउन मानेका थिएनन् ।
तर, केन्द्रीय समिति बैठकमा माग गरेको समयअनुसार पदाधिकारीको विषय टुंग्याउन प्रचण्डले गृहकार्य गरेको देखिन्न । बरु, प्रचण्डले समाजवादी मोर्चा वा अन्य पार्टीसँग एकताको विषयमा छलफल बढाएका छन् । नेताहरुले प्रचण्डको पछिल्लो शैलीप्रति बैठकमै असन्तुष्टी पोखेका छन् ।
बिहीबार बसेको स्थानीय चुनावमा भएको भनिएको अन्तरघातमाथि छानबिन र कारबाही टुंग्याउन पनि माग उठेको थियो । समाजवादी मोर्चा वा केन्द्र निर्माणमा भएको छलफलबारे पनि नेताहरुले अध्यक्ष प्रचण्डसँग जानकारी माग गरेका थिए ।
सम्बन्धित समाचार
वि.सं.२०७९ साउन १२ बिहीवार १३:५६ मा प्रकाशित






























