Logo
२ भाद्र २०७९, बिहीबार
     Thu Aug 18 2022
E-paper
  English Edition
   Unicode
Logo

युक्रेनपछि ताइवानमा युद्धको त्रास : चीनले खोल्ला त फायर ?



काठमाडौं । चीनको चेतावनीलाई वेवास्ता गर्दै अमेरिकी संसदकी सभामुख न्यान्सी पेलोसीले ताइवानको भ्रमण गरेकी छिन् । पेलोसीको भ्रमणपछि चीन र अमेरिकाबीच थप तनाव बढेको छ । पेलोसीको भ्रमणलाई चीनले ‘उत्तेजक कार्य’ भनेको छ । अमेरिकाले यसको नराम्रो परिणाम भोग्नुपर्ने चेतावनी चीनले दिएको छ ।

वास्तवमा चीनले एक चीन नीतिअन्तर्गत ताइवानलाई आफ्नो देशको हिस्सा मान्दै आएको छ । जुन विषयमा चीन र ताइवानबीच लामो समयदेखि विवाद चलिरहेको छ । जसको बीच अमेरिकाले ताइवानलाई साथ दिन थालेको छ । भविष्यमा ताइवानमाथि हमला भएमा अमेरिकाले प्रतिकारका लागि साथ दिने सन्देश पनि दिँदै आएको छ ।

पछिल्लो घटनाक्रमले ताइवान मामला क्रमशः युक्रेनको जस्तै हुनसक्ने विश्लेषण हुन थालेको छ । रुसले युक्रेनमाथि हमला गरेजस्तै चीनले गरेमा अमेरिकालगायतका पश्चिमा देशहरुले ताइवानमा भूमिका देखाउन सक्छन् । चीनसँग लड्न ताइवानलाई अमेरिकाले साथ दिनसक्छ । चीनको विरोधका बाबजुद अमेरिकी सभामुख पेलोसीले गरेको भ्रमणलाई चीनमाथि चुनौती दिएको रुपमा बुझ्न सकिन्छ ।

चीनका आक्रामक प्रतिक्रिया

पेलोसी ताइवान पुगेपछि चीनले ताइवान र अमेरिकालाई धम्की दिइरहेको छ । पेलोसीको भ्रमणप्रति चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनयिङले औपचारिक रुपमा भनेका छन्, “हामी यो भ्रमणको विरोध गर्छौं र यसको कडा निन्दा गर्छौं । यो आगोसँग खेल्ने धेरै खतरनाक कार्य हो । जसले आगोसँग खेल्छ उसले आफैलाई जलाउँछ ।”

चुनयिङले अगाडि क्षेत्रीय अखण्डताको लागि आवश्यक कदम चाल्न तयार रहेको पनि चेतावनी दिएका छन् । उनले अगाडि भनेका छन्, “हामीले भ्रमणको प्रतिक्रियास्वरूप हाम्रो क्षेत्रीय अखण्डता र राष्ट्रिय सार्वभौमसत्ताको रक्षा गर्न आवश्यक सबै कदम चाल्नेछौं । अमेरिका र ताइवानको स्वतन्त्रता समर्थक र पृथकतावादी शक्तिहरू यसका सबै परिणामहरूको लागि जिम्मेवार हुनेछन् । ताइवानको सवालमा चीनको जनता र सरकारको अडान सधैं स्पष्ट रहेको छ ।”

चीनले अमेरिकालाई ताइवान कार्ड खेल्ने काम बन्द गर्न चेतावनी दिएको छ । उसले गलत र खतनाक बाटोमा नहिँड्न पनि सुझाएको छ । प्रवक्ता हुवा चुनयिङले अगाडि भनेका छन्, “अमेरिकाले एक चीन नीति र तीन साझा संयुक्त वार्तालाई कडाईका साथ पालना गर्नुपर्छ र यो गलत र खतरनाक बाटोमा अगाडि बढ्नु हुँदैन ।”

चीनले लक्षित सैन्य कारबाही गर्ने धम्की पनि दिएको छ । तर, कुन निशानामा चीनले सैन्य कारबाही गर्ने धम्की दिएको छ भन्ने स्पष्ट भएको छैन ।

ताइवान पुगेकी अमेरिकी संसदकी सभामुख न्यान्सी पेलोसी । तस्बिर : एपी

अमेरिकाको व्यवहारप्रति निरन्तर आक्रोशित छ चीन

अमेरिकाले ताइवानलाई चीनको विरोधकै बाबजुद लामो समयदेखि हतियारहरु बेच्दै आएको छ । ताइवानले ब्ल्याक हक हेलिकप्टरलगायतका महत्वपूर्णं सैन्य उपकरणहरू अमेरिकाबाट ल्याउने गरेको छ । सन् २०१० मा, ओबामा प्रशासनले ६.४ बिलियन डलर मूल्यको हतियार सम्झौताको भागको रूपमा ताइवानलाई ६० ब्ल्याक हकहरू बेच्न अनुमोदन गरेको थियो । प्रतिक्रियास्वरूप, चीनले अस्थायी रूपमा अमेरिकासँग केही सैन्य सम्बन्ध तोडेको छ । सन् १९९६ देखि अमेरिकासँग ताइवानको मुद्दामा चीनको भिडन्त चलिरहेको छ । घटनाक्रमलाई हेर्दा अमेरिका युद्धको निम्ति उस्काइरहेको देखिन्छ ।

के हो चीन र ताइवानबीचको विवाद ?

ताइवान दक्षिणपूर्वी चीनको तटबाट करिब १०० माइल टाढा रहेको टापु हो । ताइवानले आफूलाई सार्वभौमसत्ता सम्पन्न राष्ट्र ठान्छ । यसको आफ्नै संविधान छ । ताइवानमा जनताद्वारा निर्वाचित सरकार छ । उही समयमा, चीनको कम्युनिष्ट सरकारले ताइवानलाई आफ्नो देशको हिस्सा भएको दाबी गर्दछ । चीन यस टापुलाई फेरि आफ्नो नियन्त्रणमा लिन चाहन्छ । चिनियाँ राष्ट्रपति सी चिनफिङले ताइवान र चीनको पुनः एकीकरणको कडा वकालत गरिरहेका छन् । ऐतिहासिक रूपमा भने ताइवान कुनै समय चीनको हिस्सा थियो ।

चीनबाट कसरी अलग भयो ताइवान ?

कथा सन् १६४४ मा सुरु हुन्छ । त्यतिबेला चीनमा चिङ वंशको शासन थियो । ताइवान त्यतिबेला चीनको हिस्सा थियो । सन् १८९५ मा चीनले ताइवानलाई जापानलाई सुम्पेको थियो । जापानलाई सुम्पेसँगै विवाद यहीँबाट सुरु भएको भनिन्छ । चीनमा सन् १९४९ मा गृहयुद्धका क्रममा माओत्से तुङको नेतृत्वमा कम्युनिष्टहरूले चियाङ काइशेकको नेतृत्वमा रहेको कमिङताङ पार्टीलाई पराजित गरेका थिए ।

पराजयपछि कमिङटाङ पार्टी ताइवान पुग्यो र त्यहाँ आफ्नो सरकार बनायो । यसैबीच, दोस्रो विश्वयुद्धमा जापान पराजित भएपछि, उसले ताइवानको नियन्त्रण कमिङताङलाई सुम्प्यो । सँगै कम्युनिष्टहरूले जित्दा ताइवानमाथि अधिकार छ कि छैन भनेर विवाद सुरु भयो । कमिङताङले तर्क गरे कि उनीहरूले चीनका केही भागहरूमा हारेका थिए, उनीहरू मात्रै थिए जसले आधिकारिक रूपमा चीनको प्रतिनिधित्व गरे, त्यसैले ताइवानमाथि उनीहरूसँग अधिकार थियो ।

के ताइवानले चीन जस्तो देशबाट आफूलाई बचाउन सक्छ ?

युद्धको अवस्थामा चीनको सामु ताइवानको सैन्य शक्ति निकै कम हुन्छ । तर, रुस–युक्रेन युद्धलाई हेर्दा आजको युगमा कुनै देशको सैन्य शक्तिबाट हुने परिणामको अनुमान लगाउनु गलत हुनेछ ।

ताइवान संसारको लागि किन महत्वपूर्ण छ ?

फोन, ल्यापटप, घडीदेखि कारसम्म, अधिकांश चिपहरू ताइवानमा बनेका छन् । ताइवानको एक प्रमुख कम्पनीले विश्वको आधाभन्दा बढी चिप्स उत्पादन गर्छ । यस कारणले, ताइवानको अर्थतन्त्र विश्वको लागि धेरै महत्वपूर्ण छ । यदि ताइवान चीनको कब्जामा गयो भने, चीनले विश्वको लागि यो अत्यन्त महत्वपूर्ण उद्योगलाई नियन्त्रण गर्नेछ । यसपछि उनको मनमानी अझै बढ्न सक्छ । एजेन्सीको सहयोगमा


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सिडिएसिसी)ले सञ्‍चालन गरेको मेरो सेयरको वेबसाइट बेलुका ५ः३०

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले आगामी मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभा

बैतडी । बलात्कारको आरोप लागेका पुर्चौंडी बहुमुखी क्याम्पसका प्रमुख राजेन्द्रसिंह नेगीलाई कारागार चलान गरिएको

काठमाडौं । २०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा नेकपा (एमाले)ले स्याङ्जाका दुवै निर्वाचन क्षेत्र जितेको