Logo
१४ आश्विन २०८०, आईतवार
     Sun Oct 1 2023
E-paper
  English Edition
   Unicode
Logo

चुनावी लेखाजाेखा : प्रचण्डलाई चितवन–३ कति सहज ?



काठमाडौं । सरकारले निर्वाचनको मिति घोषणा गरेसँगै उम्मेदवारी घोषणाको क्रम पनि सुरु भएको छ । उम्मेदवारी घोषणा सुरु हुँदै गर्दा विशेषतः शीर्ष नेताहरुको निर्वाचन क्षेत्रबारे चर्चा चुलिएको छ ।

पछिल्लो डेढ दशक नेपाली राजनीतिको केन्द्रमा देखिएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ यसपटकको निर्वाचन कहाँबाट र कसरी लड्लान् ? माओवादीभित्र र बाहिर सबैले ध्यानपूर्वक हेरेका छन् । चुनावी क्षेत्र फेरिरहने गरेको कारण पनि प्रचण्डप्रति अहिले चासो अलि बढी नै परेको देखिन्छ ।

२०७४ मा चितवन–३ बाट चुनाव लडेका प्रचण्डको अहिले रोल्पा, सिन्धुली र गोरखामा चर्चा छ । तथापी कहाँबाट चुनाव लड्लान् यकिन भइसकेको छैन ।

तीन चुनाव, चार निर्वाचन क्षेत्र

प्रचण्ड चुनावी क्षेत्र फेरिरहने नेताका रुपमा स्थापित छन् । २०६४ देखि यता भएका तीन वटा निर्वाचनमा प्रचण्डले चार निर्वाचन क्षेत्रबाट चुनाव लडेका छन् ।

२०६४ मा भएको संविधानसभा निर्वाचनमा प्रचण्ड काठमाडौं–१० र रोल्पा–२ बाट चुनाव लडेका थिए । उनले तत्कालिन समय दुवै क्षेत्रबाट चुनाव जितेका थिए ।

तर, दोस्रो संविधान सभा निर्वाचन–२०७० मा भने प्रचण्डले रोल्पा–२ छाडे । काठमाडौं–१० लाई कायमै राखेका उनले रोल्पा–२ को साटो सिराहा–५ बाट चुनाव लडेका थिए ।

तर, २०७० मा भएको संविधानसभा निर्वाचनमा प्रचण्ड काठमाडौं–१० बाट पराजित मात्रै भएनन् दोस्रो पनि हुन सकेनन् । उनी सिराहा–५ बाट भने मुस्किलले चुनाव जित्न सफल भएका थिए । जहाँ एमालेका उम्मेदवार लीला श्रेष्ठको भन्दा प्रचण्डको मात्रै ९ सय २२ मत बढी थियो । तथापी उक्त निर्वाचनको मतगणनामाथि धाँधली भएको आरोप लाग्ने गरेको छ ।

२०७४ मा भएको निर्वाचनमा प्रचण्डले काठमाडौं–१० र सिराहा–५ दुवै क्षेत्र छाडे । जीवनको तेस्रो निर्वाचन उनले आफ्नै गृहनगर चितवन–३ बाट चुनाव लडेका थिए । वाम गठबन्धन भएको कारण २०७० को संविधानसभा निर्वाचनभन्दा २०७४ को प्रतिनिधिसभा निर्वाचन प्रचण्डका लागि केही सहज भएको थियो । २०७४ मा भएको निर्वाचनमा चितवन–३ बाट प्रचण्डले राप्रपा प्रजातान्त्रिकका विक्रम पाण्डेलाई हराएका थिए । पाण्डेले भन्दा ९ हजार ३२७ बढी मत ल्याएर प्रचण्ड विजयी भएका थिए । प्रचण्डले ४८ हजार २६९ मत ल्याउँदा पाण्डेले ३८ हजार ९४२ मत ल्याएका थिए ।

२०७४ मा भएको निर्वाचनमा चितवन–३ मा एमाले र कांग्रेसले भने उम्मेदवार उठाएका थिएनन् । एमालेले प्रचण्डलाई सहयोग गरेको थियो भने कांग्रेसले पाण्डेलाई सघाएको थियो ।

२०७४ को निर्वाचनमा चितवन निर्वाचन क्षेत्र नं. ३ बाट चुनाव लडेका प्रचण्ड यसपटक कहाँबाट चुनाव लड्ने हुन् प्रष्ट छैन । तथापी, प्रचण्डको तयारी हेर्दा उनी यसपटक पनि चितवन निर्वाचन क्षेत्र नं. ३ बाट चुनाव लड्ने स्थितिमा देखिन्छन् । उनले चितवनमा आफ्नो पक्षमा चुनावी माहोल बनाउन निरन्तर दौडधुप पनि गरिरहेका छन् । अघिल्लो पटक चुनाव जितेयता प्रचण्डले निर्वाचन क्षेत्र केन्द्रीत थुप्रै कार्यक्रम पनि गरेका छन् ।

प्रचण्डका लागि चितवन–३ कति सहज ?

प्रचण्डको चुनावी क्षेत्र चितवन–३ भित्र दुई वटा स्थानीत तह (भरतपुर महानगरपालिका र माडी नगरपालिका) पर्दछन् । हालै भएको स्थानीय तहको निर्वाचनमा माओवादीले दुवै पालिकामा गठबन्धनको सहयोगमा उम्मेदवार उठाएको थियो । तर, गठबन्धनको सहयोगमा उम्मेदवार उठाएको भएपनि माडी नगरपालिकामा भने माओवादी केन्द्रले चुनाव हारेको थियो ।

भरतपुर महानगरपालिकामा माओवादीकी नेतृ रेनु दाहाल मेयरमा निर्वाचित भएकी छिन् । उनले एमालेका विजय सुवेदीलाई हराएकी छिन् । रेनुले विजय सुवेदीले भन्दा १२ हजार ४४९ मत बढी ल्याएकी छिन् ।

महानगरको मेयर जितेको भएपनि माओवादी केन्द्र भरतपुरको वडा स्तरमा भने निकै कमजोर देखिन्छ । महानगरका २९ वडामध्ये निर्वाचन क्षेत्र–३ मा महानगरका १० वटा वडा पर्दैनन् । निर्वाचन क्षेत्र नं. ३ अन्तर्गत पर्ने १९ वडामध्ये कांग्रेसले एक्लैले १० वडा जितेको छ । जहाँ माओवादी केन्द्रले ३ वडा, एमालेले ३ वडा र एकीकृत समाजवादीले एक वडा जितेको छ । मतको हिसाबले महानगरको वडा तहमा कांग्रेस अन्य दलभन्दा निकै बलियो देखिन्छ ।

यता, नेतृत्वमा हारेको भएपनि माडी नगरपालिकाको वडा स्तरमा भने माओवादी केन्द्र बलियो छ । जहाँ ९ वडामध्ये माओवादी केन्द्र एक्लैले ४ वटा वडा जितेको छ । जहाँ राप्रपाले २, एकीकृत समाजवादीले २ र एमालेले १ वडा जितेका छन् ।

स्थानीय तहको निर्वाचनलाई हेर्दा चितवन–३ मा कुल मतदाता २ लाखभन्दा बढी छन् । जहाँ निर्वाचित जनप्रतिनिधिले पाएको मतलाई हेर्दा, कांग्रेस सबैभन्दा बलियो पार्टी छ भने माओवादी केन्द्र एमाले पछि देखिन्छ । स्थानीय तहको मतलाई हेर्दा माओवादी केन्द्रले चुनावी तालमेल नगरेमा चितवन–३ मा चुनाव जित्न कठिन छ । तथापी, चुनावमा पात्रको छनोट पनि महत्वपूर्णं हुने हुँदा चितवन–३ प्रचण्डका लागि अन्य निर्वाचन क्षेत्रभन्दा सहज देखिन्छ ।


-->

बहराइन । गैरआवासीय नेपाली संघ९एनआरएन० का अध्यक्षका उम्मेदवार राजेन्द्रकुमार शर्माले मध्यपूर्व सधैँ एनआरएनए चुनावमा

काठमाडौँ । एक सय वटा थुम्का मिलेर बनेको दोलखाको शैलुङमा ‘स्पार्क एड्भेञ्चर २०२३’ सम्पन्न

म्याड्रिड । स्पेनको एउटा नाइटक्लबमा आइतबार बिहान भएको आगलागीमा परी कम्तीमा सात जनाको मृत्यु

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपालको पर्यटन क्षेत्रलाई नयाँ ढङ्गले

काठमाडौं । रिचेत जलविधुत कम्पनीले आईपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन