काठमाडौं । चलचित्र बोर्डको अध्यक्षमा नियुक्त भएको दुईसाता पनि नबित्दै भुवनकेसीविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।
केसीको बोर्डको अध्यक्ष हुने शैक्षिक योग्ता नपुगेको भन्दै बोर्डको अध्यक्षका लागि आवेदन दिएका नरेश पौडेललगायतले उनको नियुक्ति बदर गर्न माग गर्दै रिट दायर गरेका हुन् ।
दायर रिटमाथि साउन ३० गते प्रारम्भिक सुनुवाई हुने सर्वोच्चका प्रवक्ता विमल पौडेलले जानकारी दिएका छन् ।
केसीलाई गत साउन नौ गते बसेको मन्त्रिपरिषद्को बैठकले बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो ।
संचार तथा सूचना मन्त्रालयले बोर्डका अध्यक्षका लागि केसीसहित अरुणकुमार प्रधान, दीपक श्रेष्ठ, नरेशकुमार पौडेल, निर्मलराज ढकाल, मनिष पण्डित, सम्झना उप्रेती रौनियार, सुचित्रा श्रेष्ठ, सुनीलकुमार पोखरेल र सुष्मा कार्कीको नाम उम्मेदवारका रूपमा छनोट गरेकोमा सरकारले १० जनाको सूचीबाट केसीलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो ।
केसीले साउन ११ गतेमात्रै बोर्डको अध्यक्षको पदभार ग्रहण गरेका थिए ।
वि.सं.२०७९ साउन २६ बिहीवार १६:५४ मा प्रकाशित






























