रुकुम पूर्व । रुकुमपूर्वमा नेपाल प्रहरीको गाडी पल्टिँदा एक सुरक्षाकर्मीको मृत्यु भएको छ । उक्त दुर्घनामा परी सशस्त्र प्रहरीका प्रहरी नायव उपरीक्षकसहित पाँचजना घाइते भएका छन् । मृतक सुरक्षाकर्मीको पहिचान खुल्न सकेको छैन ।
सदरमुकाम रुकुमकोटबाट पुथा उत्तरगङ्गा गाउँपालिकाको तकसेरा जाने क्रममा गाडी पुथा उत्तरगङ्गा गाउँपालिका-११ तल्लो सेरामा दुर्घटनामा परेको हो । गाडी सडकबाट झण्डै एक सय मिटर तल खसेको गाउँपालिकाका प्रवक्ता एवम् वडा नं-५ का नं वडाध्यक्ष टिका साई घर्तीले जानकारी दिए ।
गाडीमा चालकसहित नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक प्रकाश डाँगी, सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक रविन्द्र श्रेष्ठ र अन्य गरी ६ जना सवार थिए । सशस्त्रका डिएसपी श्रेष्ठसहित अन्य पाँचजना घाइते भएका छन् । घाइतेको उद्धारका लागि हेलिकप्टर मगाइएको छ । प्रहरी टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक कृष्ण खत्रीले जानकारी दिए ।रासस
वि.सं.२०७९ साउन २८ शनिवार १३:५१ मा प्रकाशित






























