काठमाडौं । एक पछि अर्को गर्दै पार्टी परिवर्तन गरिरहेका नेपाल समाजवादी पार्टीका संयोजक डा. बाबुराम भट्टराईलाई यसपटकको चुनाव भने निकै सकस पर्ने देखिएको छ । एकातिर पार्टी संगठन बलियो नहुनु र अर्कोतिर कुनै पनि दलसँग चुनावी तालमेल हुन नसक्नुले भट्टराईका निम्ति आगामी चुनाव सकस पर्ने देखिएको हो ।
भट्टराईले चुनावी तालमेलका लागि सत्ता गठबन्धनका दलहरुलाई गुहारीरहेका छन् । तर, उनको अनुनयप्रति गठबन्धनले खासै वास्ता गरेको देखिन्न । भट्टराईले गठबन्धनमा समेट्न आग्रह गर्दै आएको भएपनि उनको पार्टी हैसियत कमजोर भएको कारण दलहरुले उक्त विषयमा धारणा बनाएका छैनन् ।
भट्टराईले माओवादी केन्द्रको चुनाव चिन्हबाट लड्ने गरी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि प्रस्ताव गरेका छन् । तर, उनको प्रस्तावप्रति अध्यक्ष प्रचण्डले जवाफ नदिएको बुझिएको छ ।
माओवादीभित्र गोरखा–२ कुनै पनि हालतमा भट्टराईलाई छाड्न नहुने अडान छ । स्थानीय चुनावमा निकै राम्रो नतिजा ल्याएको माओवादीभित्र गोरखाका दुवै क्षेत्र छाड्न नहुने दबाब छ ।
११ स्थानीय तह भएको गोरखामा माओवादी केन्द्र एक्लैले ९ स्थानीय तह जितेको छ । सबैजसो स्थानीय तहमा माओवादी र कांग्रेसबीच मात्रै चुनावी प्रतिस्पर्धा भएको देखिन्छ । एमालेसँग चुनावी तालमेल गरेको भएपनि तत्कालिन जसपा पालुङ्टार बाहेक अन्य कुनै पनि स्थानीय तहमा प्रतिस्पर्धीको हैसियतमा समेत देखिएको छैन ।
गोरखा–२ को शक्ति सन्तुलन कस्तो ?
२०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा दुई चुनावी क्षेत्रमध्ये माओवादी केन्द्रले एक र तत्कालिन नयाँ शक्तिले एक निर्वाचन क्षेत्र जितेका थिए । ०७४ मा भएको चुनावमा गोरखा–२ बाट भट्टराईले माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठलाई ६ हजार ८७४ मतले हराएका थिए । ३१ हजार ८०७ मत ल्याएर भट्टराई विजयी हुँदा श्रेष्ठले २४ हजार ९३३ मत ल्याएका थिए ।
तत्कालिन समय भट्टराईलाई कांग्रेसले सघाएको थियो भने श्रेष्ठलाई एमालेले । ०७४ मा भएको स्थानीय तहको निर्वाचनमा ११ पालिकामध्ये एक्लै ९ पालिका जितेको कांग्रेसले सघाएकै कारण भट्टराई विजयी भएका थिए ।
तर, यसपटक गोरखाको शक्ति सन्तुलन फेरिएको छ । ठूलो शक्तिको रुपमा देखिएको कांग्रेस माओवादी केन्द्रभन्दा निकै कमजोर देखिन्छ भने अन्य शक्तिको अवस्था भने निकै सामान्य छ । स्थानीय तहको निर्वाचनमा ११ पालिका रहेको गोरखामा माओवादी एक्लैले ९ पालिका जितेको छ भने कांग्रेस २ पालिकामा सिमित भएको छ ।
भट्टराईले छाडेको पार्टी जसपाको हैसियत भने गोरखामा निकै कमजोर छ । स्थानीय तहको निर्वाचनमा जसपा पालुङटार बाहेक कुनै पनि पालिकामा दोस्रो प्रतिस्पर्धीसमेत बन्न सकेन । स्थानीय तहको निर्वाचनमा गोरखा–२ भित्र पर्ने सिरानचोक गाउँपालिका बाहेक सबैको नेतृत्व माओवादी केन्द्रले जितेको छ ।
गोरखा–२ मा पर्ने वडा तहमा दलको हैसियत हेर्दा गाेरखा नगरपालकाका ७ वडा सहित ३८ वडामध्ये माओवादी केन्द्रले १८ वडा जितेको छ भने कांग्रेसले १७ र जसपाले ३ वडा जितेको छ । जसको आधारमा गोरखा–२ माओवादी केन्द्रका लागि अनुकुल देखिन्छ । भट्टराईले कांग्रेसको साथ पाएमा मात्रै प्रतिस्पर्धा गर्ने अवस्था छ ।
तर, भट्टराईलाई माओवादी र कांग्रेस दुवैले नसघाउने
०७४ को प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले सघाएकै कारण भट्टराईले चुनाव जितेका थिए । तर, विजय भएसँगै भट्टराईले दिएको अभिव्यक्तिले कांग्रेस चिढिएको छ । “कांग्रेसलाई संग्राहलयमा लगेर राख्नुपर्ने” भट्टराईको टिप्पणीप्रति कांग्रेसका नेताहरु रुष्ट छन् ।
अहिले भट्टराईलाई गोरखा–२ मा माओवादी केन्द्र र कांग्रेस कुनै पनि दलले सघाउने स्थिति देखिन्न । माओवादी केन्द्रका नेता लिलामणी पोखरेलका अनुसार गोरखा–२ मा भट्टराईलाई सघाउने सम्भावना छैन ।
“२०७४ को निर्वाचनमा केही व्यवस्थापन नमिलेर हामीले हारेका थियौं, यसपटक हाम्रा निम्ति गोरखाका दुवै क्षेत्र अनुकुल छ, स्थानीय तहको चुनावमा हामीले २ बाहेक सबै पालिका जितेका छौं”, पोखरेलले संसार न्यूजसँग भनेका छन्, “अहिले हामीले कुनै पनि क्षेत्र छाड्ने स्थिति हुँदैन । न स्थानीय नेताहरुले मान्नुहुन्छ, न हामीले मान्ने अवस्था हुन्छ ।”
यस्तै, नेपाली कांग्रेसका गोरखाका नेता सुरेन्द्रराज पाण्डे पनि भट्टराईलाई यसपटक गोरखा–२ छाड्न नसकिने बताउँछन् । कांग्रेसले चुनावी तालमेल गर्दा गोरखाका दुई निर्वाचन क्षेत्रमध्ये एक नछाड्ने र त्यो बाबुरामका निम्ति सम्भावना नभएको उनले प्रष्ट्याएका छन् ।
“कांग्रेसले कुनै दल गठबन्धनमा आउनासाथ यति सिट लिनुस् भनेर भन्दैन, गोरखामा दुईटा सिट छन, त्यसमध्ये एउटा कांग्रेसले लिन्छ, कांग्रेसका साथीहरुले क्षेत्र नं २ लिनुपर्छ भनेका छन्, गत निर्वाचनमा कांग्रेसले बाबुरामलाई छाडेकाले यसपटक हामी लिन्छौ, एउटै व्यक्तिलाई पटक–पटक सहयोग गर्न सकिँदैन”, पाण्डेले भनेका छन्, “बाबुरामजीको पार्टीमा कति भोट छ र भोट सहज रुपमा ‘ट्रान्सफर’ हुन्छ कि हुँदैन भन्ने ख्याल गर्नुपर्छ ।”
वि.सं.२०७९ साउन २९ आइतवार १४:२१ मा प्रकाशित



















