ढाका । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले बङ्गलादेश श्रीलङ्काजस्तो आर्थिक सङ्कटको जोखिममा नरहेको बताएको छ ।
अन्तर्राष्ट्रिय मुद्रा कोषको एसिया तथा प्रशान्त विभागका महाशाखा प्रमुख राहुल आनन्दले बङ्गलादेशको वर्तमान आर्थिक अवस्थाका बारेमा मङ्गलबार अनलाइन कन्फरेन्समा पत्रकारलाई जानकारी दिँदै बङ्गलादेशको बाह्य स्थिति ‘यस क्षेत्रका धेरै देशहरूभन्दा निकै फरक’ रहेको बताए ।
आईएमएफका अधिकारीका अनुसार बङ्गलादेशको बाह्य ऋण र कूल गार्हस्थ्य उत्पादन (जीडीपी) अनुपात १४ प्रतिशतको हाराहारीमा रहेको र तुलनात्मक रूपमा कम रहेको र प्रायः सहुलियतपूर्ण प्रकृतिको छ । त्यसैले कर्जा सङ्कटको जोखिम कम छ ।
बङ्गलादेशका अर्थमन्त्री एएचएम मुस्तफा कमालले फाइनान्सियल टाइम्सलाई पठाएको जवाफमा भनिएको छ, “अहिले ४० अर्ब अमेरिकी डलर सञ्चिति रहेको छ, जुन पाँच महिनाभन्दा बढीको आयात भुक्तानीका लागि पर्याप्त छ र आईएमएफले तोकेको जोखिमको सीमाभन्दा बढी छ ।
घरेलु पेट्रोलको मूल्य तीव्र गतिमा बढेसँगै बङ्गलादेशले रुसबाट कच्चा तेल आयात गर्ने सोच बनाएको छ ।
बङ्गलादेशका विदेश सचिव मसूद बिन मोमेनले कच्चा तेल आयातको विषयमा निर्णय गर्न रूसको एक विशेषज्ञ प्रतिनिधिमण्डल चाँडै ढाका आउने बताउनुभएको छ । यस महिनाको सुरुमा बङ्गलादेशको इन्धनको खुद्रा मूल्य सन् १९७१ मा बङ्गलादेश स्वतन्त्र भएयता कहिल्यै नदेखिएको स्तरमा वृद्धि गरिएको थियो ।
बङ्गलादेश सरकारले अगष्ट ६ देखि लागू हुने गरी इन्धनको मूल्य ५१ दशमलव सात प्रतिशतसम्म बढाएको छ । सरकारी वितरण कम्पनीहरूमाथिको अनुदानको भार कम गर्न खुद्रा बजारमा पछिल्लो मूल्यवृद्धि अपरिहार्य भएको अधिकारीहरूले बताएका छन् ।
विज्ञहरूका अनुसार इन्धनको मूल्यवृद्धिले मुद्रास्फीतिलाई अझ खराब बनाउनेछ । बङ्गलादेशको मुद्रास्फीति जूनमा बढेर सात दशमलव ५६ प्रतिशत पुगेको छ । यो वृद्धि दर करिब नौ वर्ष यताकै उच्च हो ।
वि.सं.२०७९ भदौ २ बिहीवार ०७:४८ मा प्रकाशित






























