नयाँदिल्ली । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले ‘भारतलाई पहिलो बनाऔँ’ अभियानको घोषणा गरेका छन् ।
आम आदमी पार्टीका केन्द्रीय अध्यक्षसमेत रहेका केजरीवालको यो अभियान राष्ट्रव्यापी हुने बताइएको छ ।
“भारतलाई विकास गरेर फेरि पनि विश्वकै सबैभन्दा अगाडि लैजान चाहन्छौँ, त्यो काम हामीले नै गर्ने हो,” बुधबार उनले भने ।
भारतलाई विश्वकै सबैभन्दा अग्रस्थानमा रहेको मुलुक बनाउनका लागि सबै भारतीय नागरिकले भूमिका खेल्नुपर्ने उनको भनाइ छ ।
अभियान घोषणा समारोहमा उहाँले भन्नुभयो, “यो सबैको जिम्मेवारी र चाहना हो, त्यसैले यो अभियान पनि सबैको साझा अभियान हो, सबैले आ–आफ्नो ठाउँबाट योगदान गरौँ ।”
धेरै वर्ष अगाडि भारत विश्वमै सबैभन्दा अग्रस्थानमा रहेको चर्चा गदै उनले फेरि अग्रपङ्क्तिमा लैजानका लागि यस अभियानमा सबै नागरिक जोडिनुपर्नेमा जोड दिए ।
यसअघि उनले गत मङ्गलबार देशभरीका सबै बालबालिकाले गुणस्तरीय शिक्षा निःशुल्क पाउनुपर्ने बताएका थिए ।
देशलाई अग्रपङ्क्तिमा लैजानका लागि हरेक नागरिकले युद्धस्तरमा काम गर्नुपर्नेमा उनले पटक पटक जोड दिए ।
“मसँग एउटा मात्रै सपना छ, भारतलाई विश्वकै सबैभन्दा शक्तिशाली र सबैभन्दा बढी विकसित मुलुक भएको देख्न पाइयोस् ।”
भारत विश्वकै सबैभन्दा बढी धनी भएको आफूहरूले हेर्न चाहेको मुख्य मन्त्री केजरीवालको भनाइ छ । त्यसका लागि सबै भारतीय नागरिक धनी हुनुपर्ने उनको भनाइ छ । (रासस÷एएनआई)
वि.सं.२०७९ भदौ २ बिहीवार ०७:५१ मा प्रकाशित






























