काठमाडौं । पहिलो डिजिटल बीमा सेवा प्रदायक इ-बीमा र एनएलजी इन्स्योरेन्स कम्पनीबीच हालै एक सम्झौतापत्रमा हस्ताक्षर भएको छ । इ-बीमाको यो नै पहिलो व्यावसायिक सम्झौता हो ।
सम्झौताअनुसार इ-बीमाको प्लेटफर्ममार्फत अनलाइनबाट नै इ-बीमा खरिद गर्न सकिनेछ । सम्झौतापत्रमा इ-बीमाको तर्फबाट प्रबन्ध निर्देशक रोशन ज्ञवाली र एनएलजीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्तले हस्ताक्षर गरेका छन् ।
उक्त सम्झौतापत्र आदान प्रदान गर्दै निर्देशक ज्ञवालीले एनएलजी इन्स्योरेन्ससँगको पछिल्लो सहकार्यले नेपाली बीमा बजारमा डिजिटल प्लेटफर्मको महत्वलाई उजागर गरेको बताए । उनले जनतामा बीमा नीति डिजिटलीकरणको आवश्यकता बढ्दै गएकोसमेत उल्लेख गरे । निर्देशक ज्ञवालीले इ-बीमासँगको सम्झौतामा हस्ताक्षर गरेर यो माग पूरा गर्न र भविष्यमा धेरै आवश्यक कदम चाल्न पूर्ण प्रतिबद्ध रहेको बताए ।
त्यसैगरी, एनएलजी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पन्तले जनतामा बीमा नीतिहरूका लागि डिजिटलाइजेसनको आवश्यकता भएको बताउँदै इ-बीमासँग गरिएको यो सम्झौता पछि बजारको त्यस्तो आवश्यकता पूरा हुने विश्वास व्यक्त गरे । बीमा क्षेत्रमा डिजिटलाइजेसनको आवश्यकतालाई अर्को प्रगतिशील पाइलाका रूपमा उल्लेख गर्दै अधिकृत पन्तले एनएलजी यस सम्भावनालाई साकार पार्न र यसबाट जनतालाई नीतिहरू प्राप्त गर्न सहज बनाउन सहयोग गर्न पूर्ण प्रतिबद्ध रहेको बताए ।
इ-बीमाले नेपालमा भएका सबै बीमा सम्बन्धी सेवाहरूको लागि एक-स्टप समाधा नहुने र देशका सबै बीमा प्रदायकहरूलाई एउटै डिजिटल प्लेटफर्ममा जोड्ने आशा राखेको जनाएको छ ।
वि.सं.२०७९ भदौ ९ बिहीवार ११:११ मा प्रकाशित



























